सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका वडानम्बर-९ ज्यामिरेमा रहेकाे क्यौलेठाना आधारभूत विद्यालयका विद्यार्थीलाई बिहीबार ट्रयाक सुट, न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरिएकाे छ।
लायन्स क्लब अफ काठमाडाैँ एक्मी टिम र नेपाल राइजीङकाे सहयोग र नेपाल रेडक्रस सोसाइटीको सहजीकरणमा विद्यालयका कक्षा बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाक सुट तथा विद्यालय सेवा क्षेत्रभित्रका ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो कपडा वितरण गरिएको हाे । यो कार्यक्रमलाई यहाँसम्म आइपुग्दा विद्यालयका प्रधानाध्यापक भरतकुमार मल्लले सहजिकरणमा अहम भूमिका निर्वाह गर्नुभएको थियो।
आज विद्यालयमा एक्मी टिमका अध्यक्ष अञ्जु शर्माको सभाध्यक्षता, District 1st VDG lions रत्न पराजुलीको प्रमुख आतिथ्यता र मेलम्ची नगरपालिका वडा नम्बर-९ का वडा अध्यक्ष किरणदीप खड्काको विशेष आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
यस सहयोगले विद्यालय र समुदायमा थप उत्साह, आत्मविश्वास र ऊर्जा थपिएको र जाडो याममा न्यानो कपडाले एकल एवम् ज्येष्ठ महिलाहरु र विद्यार्थीप्रति केही मात्रामा थप राहत पुगेको विद्यालयले जनाएकाे छ।

कार्यक्रममा नव आशा गृह क्लिनिक प्रालिद्वारा विद्यालयका लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी विभिन्न किसिमका स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरिएकाे थियाे । सहयाेगका लागि विशेषगरी लायन्स क्लब अफ काठमाडाैँ, नेपाल रेडक्रस सोसाइटी, काठमाडाैँ शाखा र नव आशा गृह क्लिनिक प्रालिका सम्पूर्ण परिवारलाई विद्यालयले आभार प्रकट गरेकाे छ।

कार्यक्रमका प्रमुख अतिथि तथा District 1st VDG Lions रत्न पराजुलीले भौगोलिकरूपमा चुनौतीपूर्ण क्षेत्रमा रहेको विद्यालय र समुदायलाई सहयोग पुर्याउनु सबैको साझा जिम्मेवारी भएको बताउँदै, यस्तो सहयोगले विद्यार्थी मात्र होइन, अभिभावक र स्थानीयबासीमा ऊर्जा, आत्मविश्वास र सकारात्मक परिवर्तनको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि निरन्तर यस्ता सामाजिक कार्यमा साथ रहने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा विशेष अतिथि वडा अध्यक्ष किरणदीप खड्काले यस किसिमका कार्यक्रमहरूले विद्यालय विकास तथा समुदाय सशक्तीकरणमा महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्नुभयो। उहाँले यस्ता पहललाई निरन्तरता दिन आग्रह गर्दै विद्यालयको प्रगतिमा सबै पक्षको साथ आवश्यक भएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङका अनुसार पहाडी भौगोलिक विकटता र आर्थिक अभावका कारण विद्यार्थी तथा अभिभावकहरू आवश्यक सामग्रीबाट वञ्चित हुँदै आएका थिए। यस पटक उपलब्ध गराइएको ट्र्याक सुट र न्यानो कपडाले विद्यार्थीहरूको मनोबल बढेको र विद्यालयप्रतिको आकर्षण थपिएको उहाँले बताउनुभयो।
यसैक्रममा, नव आशा गृह क्लिनिक प्रा. लि. ले विद्यालयका लागि आवश्यक स्वास्थ्य सामग्री तथा भाँडाकुँडा प्रदान गरी कार्यक्रमलाई अझ प्रभावकारी बनायो । यस योगदानले विद्यालयमा स्वच्छता, सुरक्षा र स्वास्थ्य सेवाको प्रवर्द्धनमा ठोस सहयोग गर्ने विश्वास अध्यक्ष तामाङले व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरू अत्यन्तै उत्साही देखिन्थे। सहप्राध्यापक लालबहादुर डाँकीले सहयोगी संस्था तथा व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गर्नुभयो। सामाजिक भावना, सद्भाव र जिम्मेवारीको उत्कृष्ट उदाहरण बनेको यस कार्यक्रमले गुफाडाँडाका बालबालिका तथा स्थानीय समुदायमा नयाँ आशा, ऊर्जा र उत्साह थपिदिएको सहप्राध्यापक डाँकीले बताउनु भयो।
प्रतिक्रिया