काठमाडौँ । एमालेमा एघारौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बुधबार बिहान ८ बजे मतदान सुरु हुने भएको छ । मतदानका लागि प्रतिनिधिहरू लाइन लागिसकेको अवस्थामा विद्युतीय मतदान मेसिनमा प्राविधिक समस्या आएको भन्दै मंगलबार राति निर्वाचन प्रक्रिया स्थगन गरिएको छ ।
मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता सोमबार नै सकिएकाले मंगलबार दिउँसो मतदान सुरु गर्ने तालिका सार्वजनिक गरिएको थियो । तर विद्युतीय मेसिनमा उम्मेदवारको नाम चढाउन ढिला भएपछि राति ८ बजे मतदान सुरु गर्ने भनिएको थियो । मतदानका लागि अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलसमेत लाइनमा थिए । तर सवा ८ बजेतिर निवर्तमान महासचिव शंकर पोखरेलले मतदान स्थगन भएको जानकारी दिए ।
एमालेले नेतृत्व चयनका लागि ‘राम–लक्ष्मण इनोभेसन’ कम्पनीले बनाएका विद्युतीय मेसिन प्रयोग गर्दैछ । महाधिवेशन निर्वाचन आयोगका अनुसार उम्मेदवारको नाम युनिकोडमा लेख्नुपर्नेमा केहीको प्रीति फन्टमा ‘इन्ट्री’ भएकाले समस्या आएको थियो । ‘मेसिनमा देखिएको समस्या समाधान गरेर बुधबार बिहान ८ बजे मतदान सुरु गर्ने निर्णय भएको छ,’ आयोगका उपाध्यक्ष सानुराज पोखरेलले भने, ‘अध्यक्षका उम्मेदवारद्वयको सहमतिमै मतदान सार्ने निर्णय भएको हो ।’
एमालेले विद्युतीय मतदान मेसिन प्रयोग गरी छिटो नतिजा निकाल्ने तयारी गरेको थियो । मंगलबार राति पनि मतदान सुरु हुन नसक्दा प्रतिनिधिहरू असन्तुष्टि पोख्दै हलबाट बाहिरिएका थिए । मतदानमा ढिलाइकै कारण एमालेको महाधिवेशन एक दिन लम्बिएको छ ।कान्तिपुरबाट
प्रतिक्रिया