• २०८३ असार ३२ | Thu, 16 Jul 2026

प्रहरी महानिरीक्षक कार्कीद्वारा दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताहकाे उद्‍घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताहकाे उद्‍घाटन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शनिबार आयोजित विशेष समारोहबीच ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह-२०८२’ को पानसमा दीप प्रज्वलन गरी उद्‌घाटन गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा सुरक्षा निकायका प्रतिनिधिहरू, सामुदायिक प्रहरी, पर्यटक प्रहरी, नेपाल स्काउट, विभिन्न सरोकारवाला निकायहरूका प्रतिनिधिहरू, विद्यार्थीहरू, ट्राफिक भोलेन्टियर लगायतको सहभागितामा सडक सुरक्षासम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरी र्‍याली बसन्तपुर कुमारीघरबाट शुरू भई न्यूरोड गेट, वीर अस्पताल, रणोद्वीप, पुरानो बसपार्क, भद्रकाली, सिंहदरबार हुँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर मूल समारोह कार्यक्रममा परिणत भएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको पुन: निर्माण भवनको समुद्‌घाटनसमेत गर्नुभयो । साथै उहाँले भवन पुन: निर्माणमा योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधी बसौलाबीच ट्राफिक प्रहरी कर्मचारीहरूलाई Influenza Vaccine कार्यको शुभारम्भसम्बन्धी समझदारीपत्र आदान प्रदान भएको थियो । यसैगरी प्रहरी महानिरीक्षक कार्की र Nepal Automobile Importers and Manufacturers Association (NAIMA) का बोर्ड सदस्य सौरभ ज्योतिबीच ट्राफिक कर्मचारीहरूका लागि अनिवार्य अनुशिक्षण तालिम संचालनसम्बन्धी समझदारीपत्र आदान प्रदानसमेत भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले आमनागरिकमा ट्राफिक सचेतना अभिवृद्धि गर्न एवम् दुर्घटना न्यूनीकरण गर्न यस अभियान फलदायी हुने बताउनुभयो । सडक दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकायहरूको संयुक्त जिम्मेवारी आवश्यक रहेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीका साथ साथै सडकको गुणस्तर, सडकको क्षमता, सवारी साधनको गुणस्तर, सवारी चालक र अन्य समुदायको चेतना र आचरणले समेत सडक दुर्घटना न्यूनीकरणमा ठूलो भूमिका रहने उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता दंगोल, वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष दिपक केसी र राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वाँरले सडक सुरक्षा बारेमा आ-आफ्नो धारणासहितको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा तयार पारिएको सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतनामूलक वृत्तचित्र, ट्राफिक प्रहरी तथा बालकलाकरबाट नृत्यसमेत प्रस्तुत गरिएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष २६, शनिबार १२:५५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP