काभ्रे । बनेपा नगरपालिका–१२ बाँसडोल र पनौती नगरपालिका–४ चामखर्कको सीमानामा अवस्थित जन्तेढुङ्गा अहिले आन्तरिक पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा चर्चामा आएको छ । विशेषगरी बिदाका दिनमा यहाँको शान्त वातावरण र प्राकृतिक सौन्दर्यको मजा लिन पर्यटकहरूको भीड लाग्ने गरेको छ ।
हरियो चौर र डाँडासहितको जन्तेढुङ्गा वरिपरिको सुन्दर दृश्य, ढुङ्गाको अनौठो आकार र यससँग जोडिएका लोककथाले पनि आगन्तुकलाई आकर्षित गर्छ । हालै सामाजिक सञ्जालमा यहाँका तस्बिरहरू भाइरल भएपछि दैनिक सयौं मानिस घुम्न आउने गरेका छन् ।

पर्यटक चहलपहल बढेसँगै स्थानीयहरूले अस्थायी पसल सञ्चालन गर्न थालेका छन्, जसले घुम्न आउनेहरूलाई सहजता भएको छ भने स्थानीयको आय आर्जन पनि बढेको छ। तर, भीडसँगै फोहर व्यवस्थापन चुनौती बनेको छ । यसका लागि चामखर्क एकीकृत युवा समूहले डस्टबिन राख्नुका साथै विभिन्न स्थानमा फोहर नफाल्न सूचना बोर्डहरू स्थापना गरेको छ ।
मनसुनको मौसममा झनै हरियालीले भरिपूर्ण देखिने यो स्थानबाट वरिपरिका पहाडी भूभाग र प्राकृतिक सुन्दरता अवलोकन गर्न सकिन्छ । प्रकृति र शान्त वातावरणको खोजीमा हुनुहुन्छ भने जन्तेढुङ्गा एकपटक अवश्य भ्रमण गर्नुपर्ने स्थान हो ।
प्रतिक्रिया