धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लामा गत आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ता घटेको छ भने नवीकरण भने बढेको छ ।
अघिल्लो वर्ष नयाँ उद्योग ६५२ वटा दर्ता भएकोमा गत वर्ष ५११ वटा मात्र दर्ता भएको उद्योग तथा वाणिज्य कार्यालय धुलिखेलले जनाएको छ। कार्यालयले दिएको तथ्यांक अनुसार गत वर्ष दर्ता भएका नयाँ उद्योगमा उत्पादनमुलक ४८, कृषि तथा वनजन्य उद्योग २५८ वटा, पर्यटन उद्योग ६९ वटा, सेवामुलक १३५ र सूचना प्रविधिसम्बन्धी एउटा उद्योग दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा उत्पादनमुलक उद्योग ५६ वटा, कृषि तथा वनजन्य उद्योग ३६६ वटा, पर्यटन उद्योग ७९ वटा, सेवामुलक १५१ वटा गरि जम्मा ६५२ वटा उद्योग दर्ता भएका थिए ।
विगत ४ वर्षको तथ्यांक हेर्दा जिल्लामा हरेक वर्ष उद्योग दर्ताको अवस्था घट्दै आएको छ । ०७८/०७९ मा १ हजार ५७५ वटा उद्योग दर्ता भएकोमा ०७९/०८० मा ९८६ वटा, ०८०/०८१ मा ६५२ वटा र गत आर्थिक वर्षमा ५११ वटा दर्ता भएका छन् । यसरी उद्योग दर्ता घट्नुको कारण वैदेशिक रोजगारप्रति यूवाहरुको आकर्षण, लगानी नउठ्ने जोखिम र सरकारले लगानीकर्तालाई विश्वास दिलाउने कार्यक्रम ल्याउन नसक्नु मुख्य रहेका सरोकारवालाहरु बताउँछन् ।
यससँगै कार्यालयले संकलन गर्ने राजश्वमा भने केही बृद्धि देखिएको छ । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा २ करोड ११ लाख ५६ हजार ८०० राजश्व संकलन गरेको कार्यालयले गत वर्ष २ करोड १३ लाख ५६ हजार ६९० राजश्व संकलन गरेको छ । जसमा उद्योग प्रशासनतर्फ १ करोड ३८ लाख ८७ हजार २१५ र वाणिज्य प्रशासनतर्फ ७४ लाख ६९ हजार ४७५ रहेको कार्यालयका सूचना अधिकारी मदनकुमार बजगाईंले जानकारी दिनुभयो ।

यस्तै गत वर्ष १ हजार ५७४ वटा उद्योग नवीकरण भएका छन् । २१६ वटा खारेजी भएका छन् भने ५५ वटा नामसारी, ६० वटा प्रतिलिपी, १६ वटा ठाउँसारी, ८२ वटा उद्योगको पूँजीबृद्धि गरिएको छ । अघिल्लो आर्थिक वर्ष ०८०/०८१ मा १ हजार ८६ वटा नवीकरण भएका छन् । १३९ वटा नामसारी, १९ वटा ठाउँसारी, ७ वटाको उद्देश्य थप, १२७ उद्योगको लगत कट्टा, ८५ वटाको प्रतिलिपी तथा १९२ वटाको पूँजी थप गरिएको छ ।
यसैगरि गत आर्थिक वर्षमा १ हजार ३५२ वटा (वाणिज्यतर्फ) पसल/व्यवसाय नवीकरण भएका छन् । १९५ वटा खारेजी हुँदा ११ वटा पसल भने नामसारी भएका छन् । यस्तै १६ पसल ठाउँसारी, ५४ वटाको प्रतिलिपी र १२३ वटा उद्योगको पूँजीबृद्धि गरिएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ९८१ वटा पसल/व्यवसाय नवीकरण भएका थिए । १२ वटाको नामसारी हुँदा १४ वटाको ठाउँसारी, ८ वटाको उद्देश्य संशोधन, १२२ वटाको लगतकट्टा, ६५ वटा प्रतिलिपी, १०० वटाको पूँजीबृद्धि गरिएको कार्यालय प्रमुख सिताराम घिमिरेले जानकारी दिनुभयो ।
उल्लेखित उद्योग तथा पसल/व्यवसायमा उद्योगी संख्या ७२७ जना रहेका छन् । जसमा ३९० जना महिला तथा ३३७ जना पुरुष रहेका छन् । यस्तै ती उद्योग तथा पसल/व्यवसायमा २ हजार ७८८ जनाले रोजगारी पाएका छन् । जसमा महिलाको संख्या १ हजार ५४१ र पुरुषको संख्या १ हजार २४७ रहेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । नयाँ दर्ता र नवीकरण भएका सबै उद्योग र व्यवसायको कूल पूँजी १६ अर्ब १० करोड ७२ लाख ६० हजार रहेको छ । जसमा चालु पूँजी ५ अर्ब ६९ करोड ६५ लाख ८० हजार र स्थिर पूँजी १० अर्ब ४१ करोड ६ लाख ८० हजार रहेको छ । यी उद्योगबाट वार्षिक कूल उत्पादन क्षमता ९ अर्ब ६९ करोड ५८ लाख रहेको पनि कार्यालयले जनाएको छ ।
प्रतिक्रिया