काठमाडौँ । गत वैशाखदेखि भदौ १४ गतेसम्म देशभर कूल तीन हजार दुई सय ८१ वटा विपद्का घटना भएका छन् । ती घटनामा परेर दुई सय सात जनाको निधन भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकाे छ।
विपदमा परेर २२ जना बेपत्ता भएका छन् भने सात सय ७४ जना घाइते भएका छन् । त्यसबाट पाँच हजार नौ सय ६३ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सो अवधिमा घटेका विपद्का घटनामा सबैभन्दा धेरै आगलागी भएको छ । कूल एक हजार एक सय ९७ आगलागीका घटना भएका छन् । जसमा १५ जनाको निधन हुँदा एक सय ६५ घाइते भएका छन् ।
बाढीका दुई सय ४३ घटनामा २७ जनाको ज्यान गएको छ भने २२ बेपत्ता र १० घाइते छन् । एक हजार सात सय ७८ परिवार प्रभावित भएका छन् । सो अवधिमा तीन सय ६८ ठाउँमा पहिरो गएको छ । पहिरोमा परेर १८ जनाको निधन भएको छ । जसमा २८ जना घाइते भएका छन् । पहिरोका कारण चार सय ८१ परिवार प्रभावित भएका छन् ।
यस्तै, दुई सय ६६ वटा भारी वर्षाका घटना भएकाे विवरण प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । जसमा छ जनाको ज्यान जाँदा १२ घाइते भएका छन् । सात सय ११ परिवार प्रभावित भएका छन् ।
उता कूल दुई सय ५८ चट्याङका घटना हुँदा ३१ जनाको ज्यान गएको छ । त्यसमा एक सय ९३ जना घाइते भएका छन् भने तीन सय १७ घरपरिवार प्रभावित भएका छन् । सर्पदंशका दुई सय ६८ घटना हुँदा ७२ जनाको ज्यान गएको छ । दुई सय दुई जना घाइते हुँदा दुई सय ७२ घरपरिवार प्रभावित भएका छन् ।
यसैगरी कूल एक सय ५८ वटा वन डढेलोको घटना हुँदा दुई जना घाइते र २७ परिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ८० घटनामा आठ जनाको निधन भएको छ भने ४१ जना घाइते भएका छन् । त्यसबाट पाँच सय ३६ घरपरिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार जनावर आक्रमणको घटनामा १५ जनाको निधन भएको छ। लेक लाग्नुका ४९, भूकम्प पाँच, डुङ्गा पल्टेर दुई, असिना / हुरी र महामारीका एक/एक घटना घटेका छन् । प्राधिकरणले विपद्सँग जुध्नका लागि आवश्यक सतर्कता र सावधानी अपनाउन आग्रह गर्नुका साथै आवश्यक तयारीसमेत गरेको जनाएकाे छ ।
प्रतिक्रिया