बनेपा । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका वडा नं. ५ मा जन्मिएका साहित्यकार रामसुन्दर देउजा लामो समयदेखि शिक्षण सेवा गर्दै साहित्य सेवामा पनि समर्पित व्यक्तित्व हुन् । पिता कमानसिंह देउजा र माता तुलसा देउजाका जेष्ठ सुपुत्रका रुपमा जन्मिएका उनकी पत्नी सावित्री देउजा र छोरा दिपेश देउजा तथा छोरी दिक्षा देउजा (थापा) रहेका छन् । उनीसँग शिक्षा र साहित्यसम्बन्धी विषयमा केन्द्रीत रहेर सम्पादक ज्ञानमणि नेपाल कालोटोपीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
– तपाईंको विचारमा साहित्य के हो ?
साहित्यलाई अनुभूत गर्नुपर्दा मलाई त जीवन र जगतको यथार्थ प्रतिबिम्ब हो जस्तो लाग्छ, अनि साहित्यले असल मार्ग निर्देशन पनि गर्नुपर्छ भन्ने लाग्छ ।
– तपाईं साहित्य क्षेत्रमा कसरी आकर्षित हुनुभयो नि?
स्कुल पढ्दादेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता पढ्न पाएँ । राष्ट्रकवि माधव घिमिरेको गाउँछ गीत नेपाली, ज्योतिको पंखा उचाली भन्ने कविता भाका हाली हाली गाउँथ्यौं । युगकवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा कविता नि पढें । भानुभक्तले घाँसीबाट अर्ती पाएको कुरा पनि पढें । उनले रामायणलाई सँस्कृतबाट नेपाली भाषामा उल्था गरी सबैले पढेर बुझ्न सक्ने बनाएको कुरा भानुभक्तको जीवनीमा पढें । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कवितामा मन्दिर र मानव शरीरलाई कति मज्जाले तुलना गरिएको छ । मस्तिष्क मन्दिरको सुनको छाना, हाड र मासु मन्दिरको खम्बा र भित्ता अनि नसामा बग्ने रगत मन्दिर छेउमा बहने नदी भनेर तुलना गरिएको छ । त्यस्तै राष्ट्रकवि माधव घिमिरेद्वारा सिर्जित गाउँछ गीत नेपाली कवितामा नेपालीहरु पूर्वमा टिष्टा र पश्चिममा काँगडासम्म पुगेका वीरताको गाथा र देशभक्तिको भावनाको वर्णन छ । युगकवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा कवितामा आफ्नो पुर्खाैली थलोको कति श्रद्धापूर्वक वर्णन गरिएको छ । अनि कताकता मैले पनि कविता लेख्न पाए हुन्थ्यो नि भन्ने भावना जाग्न थाल्यो ।
कक्षा ९ र १० मा अध्ययनरत छँदा नै अन्तिमका अनुप्रास मिलाई मिलाई कविता लेख्ने प्रयास गरें । ती कविता भए की भएनन् थाहा छैन । पछि कलेज पढ्दा पनि केही केही कविता लेखियो । ती कापीका पानाहरु पछि भेटिएनन् । त्यसपछि जागिरको सिलसिलामा कहिले कता पुगें, कहिले कता पुगें । वि.सं.२०५१ सालमा तत्कालिन रविओपी गा.वि.स. मा रहेको श्री गंगादेवी मा.वि मा शिक्षक भई गएपछि घरबाटै आउजाउ हुन थाल्यो । अनि गाउँमा यूवा क्लव खोल्ने भन्ने माहोल बन्यो र हामी केही युवाहरु मिलेर वि.सं. २०५२ मा जागृति युवा क्लव नामक गैरसरकारी संस्था खोल्यौं । म संस्थापक अध्यक्ष भएँ । संस्था दर्ताको लागि क्लबको छाप र लोगो बनाउने ठाउँ खोज्दै जाँदा बनेपाको तीनधारास्थित भावना प्रिन्टिङ्ग प्रेस फेला प¥यो । त्यहाँ छाप बनाउन दिएँ, तत्पश्चात मोहन दुवाल सरसँग सम्पर्क भयो । उहाँले जनमत साहित्यिक मासिक पत्रिका निकाल्नु हुँदोरहेछ । मेरो पनि साहित्यमा रुचि भएको कुरा बताएपछि २०५२ साल पुस महिनाको जनमत मासिक पत्रिकामा मेरो किसान शीर्षकको कविता प्रकाशित भयो । त्यसपछि म निरन्तर साहित्यमा लागिरहें ।
– साहित्यिक क्षेत्रमा लाग्ने प्रेरणा कसरी पाउनुभयो ?
नेपालमा रहेका प्राकृतिक दृश्यहरुले मन लोभ्याउँथे । अनि गाउँ समाज र देशमा रहेका विकृतिहरु देखेपछि दिक्क लाग्थ्यो । कहिले प्राकृतिक दृश्यहरुलाई लिएर कविता लेखुँलेखुँ लाग्थ्यो । कहिले विकृतिहरुको विरुद्ध कविता लेखुँलेखुँ लाग्थ्यो । यसरी म कविता लेख्न आकर्षित भएँ । मेरो प्रेरणाका स्रोतहरु तिनै प्राकृतिक दृश्यहरु र विकृतिहरु नै हुन् ।
– तपाईंलाई साहित्य कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
साहित्यले सबैको हित गर्नुपर्छ । समाजलाई अग्रगामी परिवर्तनको लागि मार्गदर्शन गर्नुपर्छ । खराब र कुविचारको विरुद्धमा साहित्य लेखिनुपर्छ । एउटा आदर्श समाज निर्माणमा सघाउ पुर्याउने खालको साहित्यको सिर्जना हुनुपर्छ ।
– साहित्यलाई अनुत्पादक क्षेत्र भनिन्छ नि ?
भौतिक कमाई त हुँदैन, नेपालमा अहिलेसम्म तर पनि भौतिक कमाई नै सबैथोक हो भन्ने पक्षमा म छैन । साहित्यको माध्यमबाट असल विचार सम्प्रेषण गरी समुन्नत समाज निर्माण गर्न सकियो भने त्यो नै ठूलो उपलब्धि होइन र ? सबैभन्दा ठूलो त आत्मसन्तुष्टी हो । भौतिक सम्पन्नताले जीवन जिउनका लागि केही सहज त होला तर सन्तुष्टी छैन भने त्यो जीवन व्यर्थ हुन्छ नि होइन र ? महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाईलाई हेरौं त–
भन्छन् सुख भनि सुख त्यो कहाँ छ ।
आफू मिटाई अरुलाई दिनु जहाँ छ ।।
– पछिल्ला दिनहरुमा पुस्तक प्रकाशित गरेर साहित्यकार बन्ने होडबाजी देखिन्छ नि ?
सबै मानिसमा केही न केही प्रतिभा त हुन्छ तर एकातिर अहिले त जागिरे जीवनपछि अवकाश जीवनमा साहित्यतिर देखा पर्ने र पुस्तक प्रकाशित गरेर साहित्यकार बन्ने प्रवृति पनि नदेखिएको होइन । अर्कोतिर घोष्टराइटरलाई लेखाएर पनि साहित्यकार बन्ने प्रबृति देखा परिरहेका छन् । यसले गर्दा साँच्चिकै साहित्यकार यदाकदा पछि परिरहेको जस्तो भान हुन्छ तर अन्त्यमा सत्यकै जीत हुन्छ ।
– प्रसङ्ग बदलाैं राजनीति चाहिँ के हो जस्तो लाग्छ ?
राजनीति भनेको राज्यको मुख्य नीति हो, अर्थात मूल जरो हो । आर्थिक र सामाजिक पक्षमा राज्यले लिने नीति हो ।
– एउटा साहित्यकारको नाताले नेपालको हालको राजनीतिलाई कसरी हेरिरहनु भएको छ ?
नेपाल एक अत्यन्तै सुन्दर देश हो । प्रकृतिको अनुपम भण्डार हो । सायद विश्वमा यो जत्तिको सुन्दर मुलुक अर्को छैन । सही नीति र नेतृत्व हुने हो भने यो मुलुक विश्वमै अनुपम मुलुक हुने थियो । तर नेताहरुको अकर्मण्यताको शिकार यो मुलुक भएको छ । वि.सं. २०४६ सालमा जनआन्दोलन भएर सफल पनि भयो । त्यसपछि त जनताका सपनाहरु पूरा होलान भन्ने ठूलो अपेक्षा थियो तर दलहरुका गलत क्रियाकलापहरुले देशले अग्रगामी छलाङ मार्न सकेन । वि.सं. २०५२ सालदेखि सशस्त्र द्वन्द्वमा मुलुक १० वर्ष अल्मलियो । हजारौं जनताको रगत बग्यो । कोही टुहुरा भए । कोही विधुवा भए । कोही सन्तान वियोगले छट्पटिए । आखिर सर्वसाधारण नेपाली नै मरे । वि.सं. २०७२ सालमा नयाँ संविधान त आयो तर संविधान मात्र आएर नहुने रहेछ । व्यवहार सहि हुनुपर्ने रहेछ । अहिले खुलमखुल्ला भ्रष्टाचार बढेको बढ्यै छ । नागरिकहरुले सरकारी कार्यालयहरुमा सजिलैसँग सेवा पाएको अवस्था छैन । राज्य तीन दलको म्यूजिकल चेयरमा रुमल्लिएको छ । सरकार बनाउने र भत्काउनेमा दलहरु लागिरहेका छन् । राजदूतमा भागवण्डा, न्यायालयमा भागवण्डा, संवैधानिक नियुक्तिमा भागवण्डा र गभर्नरमा भागबण्डा जताततै भागवण्डा देखिन्छ । भागवण्डाको राजनीति हाबी भइरहेको छ ।
– तपाईंको विचारमा देशलाई कसरी विकास गर्न सकिन्छ त ?
राज्य संचालन गर्ने दलहरुसँग स्पष्ट नीति हुनुपर्छ । कृषिमा कसरी अगाडि बढ्ने, उद्योगमा के के गर्ने, पर्यटनमा कसरी जाने, शिक्षामा के नीति लिने, सबै नागरिकमा स्वास्थ्य सेवा पुर्याउन के गर्ने, खानेपानी कसरी सर्वसुलभ बनाउने, देशमा युवाहरुलाई कसरी सीप दिने र उनीहरुलाई राज्यले कसरी परिचालन गर्ने भन्ने खालका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीतिहरु तय गर्नुपर्छ । ती नीतिहरु तय गर्न सम्बन्धित क्षेत्रका विज्ञहरुको समिति बनाई उक्त समितिले अध्ययन गरी दिएको प्रतिवेदन र सुझावहरुलाई कार्यान्वयन गर्ने पहलकदमी लिनुपर्छ ।
–तपाईं त लामो समयदेखि शिक्षण पेशामा पनि संलग्न हुनुहुन्छ । यस पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले वि.सं. २०४३ सालदेखि शिक्षण सेवा गर्न शुरु गरें, अहिलेसम्म गरिरहेको छु । शुरुमा प्राइभेट स्कुलहरुमा गरें । वि.सं. २०४६ देखि सरकारी विद्यालयमा गरिरहेको छु । मलाई बालबालिकाहरुसँग खेल्न असाध्यै मनपर्छ यसमा म सन्तुष्ट छु ।
– शिक्षण पेशामा लाग्दा बिर्सन नसकिने त्यस्तो कुनै क्षण छ ?
बालबालिकाहरुसँगका रमाइला क्षणहरु त धेरै छन् तर पनि एउटा अविष्मरणीय क्षण चाहि यहाँ उल्लेख गर्न चाहन्छु । मैले वि.सं. २०५० जेठदेखि २०५१ पुससम्म हालको मण्डनदेउपुर नगरपालिकामा अवस्थित तत्कालिन उमाशह शिक्षालय नि.मा.वि. चण्डेनीमा अध्यापन गरें । त्यहाँका एक जना विद्यार्थी भाई व्यासासन बसेर सप्ताह/नवाह भन्ने पण्डित भइसकेका रहेछन् । वि.सं. २०६८ सालमा मेरै गाउँको गणेश मन्दिरमा नवाह कार्यक्रमको आयोजना गरिएको थियो । गाउँका एक जना बाले उनलाई ल्याएछन् । उनले व्यासासनबाट भागवत कथा प्रचवन दिएको सबैलाई उत्कृष्ट लागेको रहेछ । उनको प्रवचनमा सबै प्रभावित भएका रहेछन् । उनले यतातिरकै हामीलाई पढाउने एकजना देउजासर हुनुहुन्थ्यो भनेर जिज्ञासा राखेछन् । मलाई मेरो माइलोबुबाले भन्नुभयो, गुरु त देउजासर यताकै हुनुहुन्थ्यो भन्नुहुन्थ्यो नि । मैले नाम सोधें । माइलोबुबाले नाम त थाहा भएन भन्नुभयो । म ३ दिनपछि मात्र विहानै गएँ अनि भेट भयो । चिन्न अलि मुस्किल नै पर्यो । डम्म मोटाएका सँगै बस्दा मैले पढाएको भन्न नमिल्नेजस्ता अर्थात् जीउडाल हेर्दा मभन्दा पनि अग्रज देखिन्थे । उनले नाम बताएपछि स्मरण भयो मैले चिनें । केहीबेर कुराकानी भयो अनि उनी व्यासासनमा गए । नवाह सुन्न आउने गाउँभरिका थुप्रै गाउँलेहरु र वल्लो गाउँ पल्लो गाउँका व्यक्तिहरुसमेत थिए । उनी व्यासासनमा गएर भन्न थाले – ‘मैले आज गुरु भेट्टाएको छु । मलाई पढाउने गुरु । सबैका आँखा यताउति घुम्न थाले ।’ यस्ता पण्डित गुरुलाई पनि पढाउने को होला ? सबैमा कौतुहलता भएको स्पष्ट देखिन्थ्यो । अनि उनले बताए, ‘मलाई उमाशह शिक्षालयमा पढाउने गुरु हुनुहुन्छ, तपाईंहरुकै गाउँका रामसुन्दर देउजा । उनले अगाडी बोलाएर मलाई गुरु दक्षिणा भन्दै सिङ्गो नरिवल, केरा र प्रसाद मेरो हातमा थमाए । अनि म प्रणाम गर्छु भने । उहाँले पढाएको मलाई अझैसम्म सम्झना छ कि अन्तिममा दीर्घ लेखिने शब्दहरुः
सर्वनाम विशेषण पेशा जात थर ।
दर्जा क्रिया दीर्घ हुन्छन् दीर्घै लेख्ने गर । ।
यति भनिसकेपछि गाउँभरिका सयौँ मानिसहरुको नजर मतिर पर्यो । उहाँहरुको मनोविज्ञानले बताइरहेको थियोे कि यस्ता पण्डितलाई पनि पढाउने अर्थात् पण्डितका पनि गुरू । म अवाक भएँ । शिक्षक भएको त्यतिबेला सार्थक भएको जस्तो लाग्यो । ती पण्डित थिए ‘रामचन्द्र ढुंगाना ।’
– अन्त्यमा यहाँका केही भनाइहरु ?
नेपाल बुहजातीय, बहुसाँस्कृतिक प्राकृतिक सम्पदाले भरिपूर्ण योगभूमि र तपोभूमि हो । साँच्चिकै सही नीति र नेतृत्व हुने हो भने स्वर्गको एक टुक्रा बन्छ नेपाल । विदेशीहरुलाई पनि नेपालमा एकचोटी पाइला नटेकी के मर्नु भन्ने वातावरण बन्थ्यो । तर यहाँको मूल जरो नै दूषित भएपछि रुखमा के हरियाली छाउँथ्यो । अन्त्यमा मेरा आफ्ना कुराहरु राख्ने मौका दिनु भएकोमा कालोटोपी डटकमलाई पनि विशेष धन्यवाद दिन्छु ।
प्रतिक्रिया