• २०८३ असार ३० | Tue, 14 Jul 2026

निर्दाेष नागरिक मारेर सरकारले बलिरहेकाे आगाेमा घ्यू थप्याेः सुवास कार्की (बेलासे)

निर्दाेष नागरिक मारेर सरकारले बलिरहेकाे आगाेमा घ्यू थप्याेः सुवास कार्की (बेलासे)

काठमाडाैं । सरकारले पछिल्ला दिनहरुमा देशमा सामाजिक सञ्जालहरु बन्द गर्याे । यसपछिकाे घटनाक्रम निकै फेरियाे । शान्तिपूर्णरुपमा साेमबार निस्किएकाे जेनजी पुस्ताकाे प्रदर्शनमा प्रहरीले गाेली चलायाे । एकाएक १९ जना निर्दाेष नागरिककाे ज्यान गयाे भने सयाैंकाे संख्यामा घाइते भए । यसले देशमा थप भयावह अवस्था निम्तिएकाे छ । यसलाई विदेशमा रहेका नेपालीले कसरी हेरेका छन् त । नेपाली कलाक्षेत्रमा चर्चित हाँस्य कलाकार सुवास कार्की ‘बेलासे’ यतिबेला वेलायतमा छन् । उनी करिब ११ वर्ष पहिले नयाँ विषयका साथ आएको हाँस्य श्रृंखला भद्रगोलका निर्माता थिए । उनै बेलासेसँग यसपटक कालोटोपी डटकमका लागि सम्पादक ज्ञानमणि नेपाल कालोटोपीले अनलाइनमार्फत कुराकानी गरेका छन् । कालोटोपीसँग के कुरा गरेछन् बेलासेले त्यस्तो ? प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंशः–

परदेशमा बसेर नेपालकाे राजनीतिलाई कसरी हेरिरहनु भएकाे छ ?

म विदेशमा बसे पनि, अनलाइन समाचार पोर्टलहरू, नेपाली टिभी च्यानलहरू, सामाजिक सञ्जालहरू र घरमा साथीभाइ र परिवारसँगको छलफलमार्फत नेपाली राजनीतिको बारेमा अपडेट रहने प्रयास गर्छु । तर यो सरकारले यी सबै मिडियाहरू बन्द गर्ने भन्दा साह्रै रिस उठेको थियो । परदेशको विकास, यहाँको राजनीति, जनतालाई दिने सुविधा देख्दा नेपालको साह्रै याद आउँछ, कहिले हाम्रो नेपाल यस्तो होला भनेर ।

१९ जना निर्दाेष नागरिक मारिनुका पछि कसकाे कारण देख्नु हुन्छ ?

नेपाल प्रहरीले १९ जना निर्दोष विद्यार्थीहरूको हत्या गरेको घटनाले शक्तिको दुरुपयोग र सुरक्षा बलभित्र जवाफदेहिताको अभाव झल्काउँछ। यसले संवाद र शान्तिपूर्ण उपायहरूको सट्टा कसरी अत्याधिक बल प्रयोग गरियो भनेर देखाउँछ। राजनीतिक अस्थिरता, कमजोर नेतृत्व र दण्डहीनताको संस्कृतिले यस्तो विनाशकारी घटनामा प्रमुख भूमिका खेलेको हुन सक्छ। एउटा प्रहरीलाई गोली चलाउन निर्देशन दिने प्रहरी प्रमुख, उनलाई आदेश दिने गृहमन्त्री, र गृहमन्त्रीलाई पनि आदेश दिने प्रधानमन्त्री। दशैंको मुखमा एउटा आमालाई बचाउन जाँदा अर्को आमाको कोख नै खाली । दाेषी यीनै हाेइनन् र ?

देश र नागरिकलाई सरकारले हेर्ने दृष्टिकाेण कस्ताे पाउनु भयाे ?

नेपाल सरकारले १९ जना निर्दोष नागरिकको हत्या गरेको घटनाले गहिरो जरा गाडेको राजनीतिक अस्थिरता, कमजोर शासन र नागरिक अधिकारमाथि हनन गर्ने राज्यको प्रवृत्ति, यस्ता कार्यहरू प्रायः अधिकार गुमाउने डरले हुन सक्छन् । सरकारले नागरिकलाई हेर्ने दृष्टिकोणबाट हामी जस्ता युवाहरू बिदेशिनु परेको छ। यसले नेताहरू र जनताबीचको विच्छेदन देखाउँछ, जहाँ सुरक्षा र न्याय सुनिश्चित गर्नुको सट्टा, सरकारले जबरजस्ती आफ्नो बल प्रयोग गर्छ।

अहिले नेपालमा सामाजिक सञ्जाललाई बन्द गरिएको छ । यस विषयमा तपाईंको धारणा के छ ?

सामाजिक सञ्जाल बन्द गरेर सरकारले बलेको आगोमा घ्यू थपेको जस्तो लाग्छ। यसमा भित्रिएका विकृतिलाई नियन्त्रण चाहिँ गर्नै पर्छ र कानुनी समस्या थियो भने शुरुमै किन रोकिएन त ? फेसबुकलगायतका सामाजिक सञ्जाल नेपालमा चल्न थालेको आजदेखि मात्र हो र ? १८ / २० वर्ष भइसक्यो । यस्तो गरेर शासन चल्दैन जनताकाे आवाज सुन्नु पर्छ। नेपालीलाई दुःख दिने हैन ।अब संसार कहाँबाट कहाँ पुगिसक्यो ।

पछिल्ला दिनहरुमा नेपालमा एकपछि अर्का समस्याहरु थपिएका छन् । यो किन र कसरी भएका होलान् जस्तो लाग्छ ?

यो समस्या यसरी नै चलिरहन्छ, जहिलेसम्म हामी अरुको भरमा बाँच्ने आशा लिन्छौं र आफू केही पनि गर्न नसक्ने बनिरहन्छौं । कमजोर राजनीतिले गर्दा देश पनि कमजोर भएको हो जस्तो लाग्छ।

यसको समाधानका लागि कसले के गर्नु आवश्यक छ ?

विदेशीका राम्रा कुरा फलो गर्नुपर्यो । यूवाहरूको कुरा सुन्नु पर्यो । पुराना इतिहासबाट पाठ सिकेर आगामी दिनको शुभकाममा लाग्छु भन्नेहरुले कसैको आशै गर्दैनन् । राज्यले चाहे जे पनि गर्न सक्छ । तर त्यहाँ पुगेकाहरु सत्ताकै लागि लडिरहेका छन् । यो अवस्थामा जनता नै सचेत भएर अगाडि बढ्नु पर्छ कि जस्तो लाग्छ ।

अलिकति प्रसंग बदलाैं, तपाईंको परिचय के हो ? कलाकार कि व्यापारी ?

म अहिले यो दुवै होइन, साधारण एउटा कम्पनीमा काम गरेर बसेको छु । वेलायत आउनुभन्दा पहिला साधारण विजनेस गरेर बसेको थिएँ र पछि कलाकार पनि बनेको थिएँ ।

कहिलेदेखि शुरु गर्नु भयो कलाकारिता ?

जबदेखि भद्रगोल शुरु भयो, त्यो बेलादेखि मात्र हो कलाकार भएको ।

एकाएक भद्रगोलका पात्र कहाँबाट आए, कहाँ हराए ?

प्रतिभाको खानी भएका साथीहरू हुनुहुन्थ्याे । उहाँहरू ठूलो पर्दामा ब्यस्त हुनु हुन्छ।कोही साथीहरू व्यापारमा व्यस्त छन् भने कोही अझै टेलिश्रृंखलामा व्यस्त छन् ।

भद्रगोलमा बेलासे कहाँबाट जन्मियो ?

यसको श्रेय जिग्री र पाँडे हुनुहुन्छ । भद्रगोलको बाटो उहाँहरूले नै देखाउनु भएको हो । उहाँहरू नभएको भए बेलासे पनि जन्मिदैनथ्यो ।

बेलासेले पैसा नहालेको भए भद्रगोल बन्थ्यो त ?

अवश्य बन्थ्यो नि… । फेसबुक नचलेर हामीलाई कुरा गर्न रोकिएको छ र ? त्यस्तै त हो नि, एउटा नभए अर्को ।

भद्रगोलका कथाहरू कसरी पाउनु हुन्थ्यो ?

यी सबै समाजमा भएका र हुने गरेका यथार्थ घटनाहरुका वास्तविक तस्बीर थिए । यसमा जिग्री र पाँडेले निकै खाेजी गर्नुहुन्थ्याे । त्यसैले यसका पछि लाग्नेहरु धेरै भएका हुन् । थेगोका कारण भद्रगोल चर्चामा आएको थियो, मेरो पनि आफ्नै थेगो थियो । ‘तनावै तनाव छ, गोजीमा २ रुपैयाँ छैन । सबैको जीवनमा यो थेगो प्रयोग हुने भएकाले, होला अहिले पनि मलाई प्रायले चिन्नु हुन्छ ।

जिग्री र पाँडे ठूलो पर्दामा काम गर्दै हुनुहुन्छ, तपाईंलाई अफर आएन ?

म बाहिर छु भन्ने कुरा सबै साथीहरूलाई थाहा छ । त्यसैले होला, नेपालमा थिएँ भने अवश्य भन्नु हुन्थ्यो होला ।

तपाईंले भद्रगोलमा खेल्ने सबै कलाकारको भविष्य बनाइदिनु भयाे हैन ? अहिले उनीहरू तपाईंको सम्पर्कमा छन् त ?

मैले बनाएको भन्दा पनि उहाँहरू क्षमतावान हुनुहुन्थ्यो । त्यसैले गर्दा हो । मेरो सम्पर्कमा केही साथीहरू हुनुहुन्छ अहिले पनि ।

तनाबै तनाब छ । गोजीमा दुई रुपैयाँ छैन भन्ने मान्छे, म देखिरहेको छु, कहिले अमेरिका, क्यानडा, अष्ट्रेलिया, त कहिले यूरोप ? महंगा गाडी के छ यसको आधार ?

म करिब ७ बर्ष हुन लाग्यो बेलायतमा आफ्नो परिवारसँग बसोबास गर्दै आएको छु । केटाकेटी हरेक वर्ष होलिडे जाने भन्छन् । मलाई नेपाल जान मन लाग्छ । तर हवाई टिकटको पैसा सुन्दै सातो जान्छ, त्यसैले एक जनाको टिकटको पैसाले अरू देश घुम्न पुग्छ । अनि यता वेलायतमा गाडी जसकाे पनि हुन्छ । आधा महिनाको तलबले राम्रै गाडी आउँछ । नेपाल जस्तो कहाँ हो र, घर जग्गा बेचेर गाडी किन्नु पर्ने ।

बरिष्ठे कसरी भद्रगोलमा आबद्ध भए र उनले किन बजारमा बेलासेले सबै पैसा खाएर भागे भन्छन् ?

भद्रगोल दुई भाग बनेर तयारी अवस्थामा थियो । तर नेपाल टेलिभिजनमा अनएयर गर्न एउटा माध्यमको खोजीमा हुनु हुन्थ्यो जिग्री, पाँडे र माने । त्यसैको सिलसिलामा म आबद्ध हुन पुगेँ । मेरा लागि उहाँहरू नयाँ अनुहार हुनु भो । पूर्व अष्ट्रेलियन राजदूत महेश दाहाल दाईसँग मेरो राम्रो चिनजान थियो । उहाँको देनले गर्दा वरिष्ठ यानी शंकर आचार्य दाईलाई भद्रगाेलको डाइरेक्टर बनाइयो । अब पैसाको कुरा उहाँलाई यसबारे सबै कुरा थाहा छ, तर कसैको कुरा सुनेर बोल्नु भएको होला जस्ताे लाग्छ ।

जीवनमा कलाकार भएर के पाउनु भयो ?, के गुमाउनु भयो ?

नाम र इज्जत पाएँ । दर्शकहरुले वेलासे भनेर बोलाउनु हुन्छ, खुशी लाग्छ । उहाँहरुको माया पाएँ । के गुमाएँ भन्नु र खै ? अँ ! गुमाएकै कुरा गर्नु पर्दा आमा र बाबा गुमाएँ । यतिखेर उहाँहरु हुनुहुन्थ्यो भने कति धेरै रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ । तर म कलाकार भएकै कारण उहाँहरुलाई गुमाएको चाहिं होइन ।

कलाक्षेत्रलाई माथि उठाउन राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?

राज्यले कलाकारका समस्याहरुलाई बुझेर उनीहरुलाई हौशला दिने खालका कार्यक्रमहरु ल्याउन सक्ने हो भने आगामी दिनहरुमा यसतिर लाग्नेहरुको संख्या पनि बढ्दै जाने थियो कि जस्तो लाग्छ । तर राज्यले यस्तो नीति नै बनाएन । पहिलेदेखि नै धेरै कलाकार विदेशिएका छन् । स्वदेशमा काम गर्ने वातावरण नै सरकारले दिँदैन । यसरी के को आशा गरेर बस्छन् युवा नेपालमा र के गर्छन् लगानी ?

अहिलेको समयमा कलाकार मात्रै भएर बाँच्न सक्ने अवस्था छ त ?

धेरै गाह्रो छ । तर प्रतिश्पर्धात्मकरुपमा अभिनय गर्दै अगाडि जाने हो भने बाँच्नै नसकिने चाहिं होइन । यसमा कलाकारले आफूलाई पनि तिखार्नुपर्छ । सरकारले पनि उनीहरुलाई टिक्ने वातावरण बनाइदिनुपर्छ ।

जीवनका केही रमाइला र केही नरमाइला घटनाहरु याद छन् कि ?

कलाकार भएर इज्जत पाउँदा रमाइलो लागेको छ भने आमा बुबा गुमाउनु पर्दाको क्षणलाई मैले मेरो जिन्दगीकै सबैभन्दा नरमाइलो क्षणको रुपमा लिएको छु ।

हिजोआज के मा व्यस्त हुनुहुन्छ ?

यतै परिवारसँग वेलायतमै व्यस्त छु । महिनामा १५ दिन अफिस, १५ दिन घर यस्तै मेरो दैनिकी ।

मेराे अन्तिम प्रश्न, पहिला नेपाल आउँदा सक्किगोनीमा पनि खेल्नु भो, अब त जिग्री र पाँडे पनि फुटे रे भन्ने सुनिन्छ, तपाईं कतातिर लाग्नु हुन्छ ?

अब एउटै खाटमा सुत्दा लात्ती लाग्यो भनेर रिसाउन पर्ने म देख्दिनँ, भाइ फुटे गवाँर लुटे, भन्याझैँ यसले फाइदा अरुलाई मात्र हुन्छ । मेरा लागि दुबै बराबर हुनुहुन्छ, म नेपाल छिट्टै आउँदैछु, सकेसम्म एउटै चौतारीमा बसेर काम गर्नेछौं । उहाँहरू दोस्रो मह भएको हेर्न चाहान्छु म ।

समय र संवादका लागि धन्यवाद

धन्यवाद त मैले नै दिनु पर्थ्यो, तर के गर्नु तनाबै तनाब छ, गोजीमा दुई रूपैंयाँ छैन । अब गोजी दुई रूपैंयाँ नभए पनि, मेरा कुराहरुलाई दर्शक र पाठक माझ पुर्याउने मौका दिनु भएकोमा तपाईं र तपाईंको मिडिया कालोटोपी डटकमलाई पनि धेरै धेरै धन्यवाद ।



कालोटोपी कालोटोपी    
  • २०८२ भाद्र २३, सोमबार १३:०४
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP