• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

नागरिकले अहिले काम गर्ने र परिणाम दिने नेतृत्व खोजिरहेका छन्ः ज्याेत्सना सैँजु (उम्मेदवार, काभ्रे-२)

नागरिकले अहिले काम गर्ने र परिणाम दिने नेतृत्व खोजिरहेका छन्ः ज्याेत्सना सैँजु (उम्मेदवार, काभ्रे-२)

बनेपा । यतिबेला देशभर चुनावी राैनकले छाएकाे छ । कसले जित्ला, कति भाेट ल्याउला भन्ने आँकलन बढ्दाे छ । काभ्रे क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैबीचमा हामीले याे पटक उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार बन्नु भएकी ज्याेत्सना सैँजुसँग चुनाव केन्द्रीत कुराकानी गरेका छाैँ । प्रस्तुत छ उहाँसँग गरिएकाे कुराकानीकाे सम्पादित अंशः

प्रश्न: तपाईंलाई नागरिकले किन भोट दिने ?


मलाई लाग्छ नागरिकले काम गर्ने, सुन्ने र परिणाम दिने नेतृत्व खोजिरहेका छन् । अहिले मेरो मुख्य एजेण्डा नै देशको आर्थिक रुपान्तरण हो, देशलाई कसरी धनि बनाउने, कसरी आर्थिकरुपमा सबल बनाउने भन्ने काम गर्ने मेरो उम्मेदवारी हो। मेरो व्यवसायिक अनुभव, पढाई, सामाजिक काममा सक्रियता र स्थानीय समस्याको बुझाइका आधारमा म विकासलाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरिरहेकी छु। ‘गफ हैन काम, भाषण हैन परिणाम’ भन्ने हाम्रो पार्टी उज्यालो नेपालको मुल ध्येय हो । यसमा टेकेर हामी अगाडि बढ्नेछाैँ ।

प्रश्न: चुनाव आउन लागेको छ, नागरिकको अपेक्षा कस्तो छ ? के पाउनु भयो ?


घरदैलो र भेटघाटमा मैले नागरिकको मुख्य अपेक्षा रोजगारी, कृषिमा सुधार, शिक्षा, पर्यटन, स्वास्थ्य सेवा र सडक संजाल, सिँचाइजस्ता आधारभूत पूर्वाधारमा केन्द्रीत रहेकाे पाएँ । मैले नागरिकमा परिवर्तनको चाहना र आशा दुवै देखेको छु। नयाँ नेतृत्वको चाहना र परिवर्तन नै नागरिकको अपेक्षा हो अहिलेको।

प्रश्न: नागरिकले पुरानै पारा देखाए भने तपाईंले देखेका सपनाहरू सम्भव होला त ?


परिवर्तनको सुरुवात विश्वासबाट हुन्छ । नागरिकले नयाँ सोच र कामलाई समर्थन गर्नुभयो भने मात्रै नयाँ सम्भावना खुल्छ । म आशावादी छु कि यसपटक नागरिकले परिणाममुखी नेतृत्व रोज्नुहुनेछ ।

प्रश्न: काभ्रे–२ मा २४ जना उम्मेदवार छन्, आफ्नो स्थान कति सुरक्षित मान्नुहुन्छ ?


लोकतन्त्रमा अन्तिम निर्णय जनताको हुन्छ । म प्रतिस्पर्धालाई सकारात्मकरूपमा लिन्छु। नागरिकको साथ र विश्वासले मेरो स्थान बलियो बनेको महसुस भइरहेको छ। हामीले हाम्रो मुख्य एजेण्डा नै देशको आर्थिक रुपान्तरण राखेका छौं र हाम्रो नेतृत्व कुलमान घिसिङ जी पनि काम गरेर प्रमाणित हुनुभएर राजनीतिमा आउनु भएको हुनुहुन्छ । त्यसैले मेरो स्थान राम्रो नै बनेको महसुस भइरहेको छ।

प्रश्न: जनताका अपेक्षा, समस्या र गुनासा धेरै छन् , कसरी पूरा गर्ने सोच छ ?


समस्या समाधानका लागि प्राथमिकता निर्धारण, पारदर्शिता र स्थानीय स्रोतको सही प्रयोग आवश्यक छ। कृषि, पर्यटन, साना उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर चरणबद्धरूपमा काम गर्ने योजना छ।

प्रश्न: जित–हार जे भए पनि नागरिक यहीँ छन्,
आगामी दिनमा कसरी अघि बढ्ने साेच छ ?

राजनीति केवल चुनाव जित्नका लागि होइन, समाज सेवा गर्ने माध्यम पनि हो । परिणाम जस्तो भए पनि नागरिकसँगको सम्बन्ध र काम निरन्तर रहनेछ ।

प्रश्न: तपाईं राजनीतिमा नयाँ हुनुहुन्छ, प्रतिस्पर्धी पुराना छन्, कस्तो लाग्दैछ ?


नयाँ हुनु चुनौती पनि हो र अवसर पनि । पुराना अनुभवबाट सिक्दै नयाँ ऊर्जा र दृष्टिकोणसहित काम गर्ने आत्मविश्वास छ। नागरिकले नयाँ पुस्ताको नेतृत्वलाई अवसर दिने विश्वास लिएको छु।

यहाँकाे व्यस्त समयमा पनि कुराकानीका लागि समय दिनुभयाे, धन्यवाद ।

मेरा केही कुराहरु नागरिकसामू पुर्याउन सहयाेग गर्नु हुने तपाइँ र तपाइँ आबद्ध सञ्चारमाध्यमलाई पनि धेरै धेरै धन्यवाद छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ६, बुधबार ०१:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP