काठमाडौं । जेनजी आन्दोलनका क्रममा गण्डकी प्रदेशको पाेखरा महेन्द्रपुलस्थित नेपाल दूरसञ्चार कम्पनीको प्रदेश निर्देशनालय भवनमा तोडफोड तथा आगजनी हुँदा ठूलो संख्यामा रिचार्ज कार्ड चोरी भएको पाइएको छ ।
नेपाल टेलिकमले आइतबार आपतकालीन सूचना जारी गर्दै ती कार्ड प्रयोग नगर्न सबै उपभोक्तालाई आग्रह गरेको हाे। कम्पनीले जनाए अनुसार, चोरी भएका कार्डमध्ये सय रुपैयाँ मूल्यका ७० हजार र पाँच सय रुपैयाँ मूल्यका करिब दुई सय कार्ड रहेका छन् । ती कार्डका श्रेणी नम्बरसमेत टेलिकमले सार्वजनिक गरेको छ ।
सूचनामा भनिएको छ, “उक्त श्रेणी नम्बरभित्रका सबै कार्ड चोरी भएकाले प्रयोग नगर्नुहुन अनुरोध गरिन्छ । प्रयोगमा ल्याइएका कार्डले सेवामा समस्या उत्पन्न गराउन सक्छन् ।” साथै, त्यस्ता कार्ड भेटेमा नजिकैको दूरसञ्चार कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।

नेपाल टेलिकमले चोरी भएका कार्ड बिक्री, वितरण तथा प्रयोग भए उपभोक्ताले नोक्सानी भोग्न सक्ने चेतावनी पनि दिएको छ । साथै, घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र दोषीलाई कानुनी कारबाही गरिने जनाएको छ ।
प्रतिक्रिया