बनेपा । दशैं नेपालीहरुको प्रमुख चार्ड हो। राष्ट्रिय चार्डसमेत मनिने दशैं नवरात्र हिन्दू धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म नवरात्रभर शक्ति देवीको आराधना गरी दशौं दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका–प्रसाद ग्रहण गरेर विशेषरूपमा मनाउने गर्छन् ।
आश्विन शुक्ल प्रतिपदा घटस्थापनामा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येक दिन फरक देवीहरूको पूजा हुन्छ । प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती चण्डी पाठ गरी नवदुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आराधना गरिन्छ।
विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने चलन छ।
तर, दशैं कसैका निम्ति दशा नबनोस् । आफू र आफ्नो परिवारको क्षमताअनुसार दशैं मनाउने गर्नुपर्दछ । दशैं दुःख–सुख आदान प्रदान गर्ने पर्व पनि हो । त्यसैले परिवारमा आफ्ना समस्या, अनुभवहरु, सिकाईहरु आदान–प्रदान गर्ने वातावरण बनाउन एकजुट हुनु पर्दछ । परिवारका सबै सदस्यसँगै बसेर घरमा जे छ, जे किन्न सकिन्छ त्यसैमा रमाउने गर्नु पर्दछ ।
खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता संस्कृति र पर्वहरु मनाउँदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अबस्थामा रहेको हुन्छ ।
हामी नेपाली संस्कृतिका धनी छौं । सानो देशमा एक सय २५ जातिहरु रहेका छाैं । पछिल्लो तथ्यांकअनुसार नेपालमा हिन्दू धर्म मान्नेहरुको संख्या धेरै रहेको छ भने राष्ट्रिय पर्वको रुपमा मानिने दशैं पर्वलाई हिन्दू बाहेक बौद्ध, किरात, इस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थावान भएका समुदायहरुले पनि महत्व दिने गरेको पाइन्छ । हाम्रा हरेक संस्कृति र पर्वहरु आर्थिक पक्षसँग जाडिएका हुन्छन्। आर्थिक हैसियत भएका वर्ग र विपन्न बर्गसमेत एउटै समाजमा रहेका छौं ।
खर्च गरेर तडक–भडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता संस्कृति र पर्वहरु मनाउँदा एउटा बर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अबस्थामा रहेको हुन्छ । अबका दिनहरुमा देखासेखी र आडम्बरयुक्त दशैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्न जान्नु पर्दछ । अब पनि यस्ता खर्चिला पर्वहरुलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरुको अवस्था झनै दयनीय हुन जान्छ।
त्यसो गर्दा दशैं दशा बन्दैन । ऋण लिएर दशैं मनाउँदा परिवारका सदस्यलाई खुशीभन्दा बढी दुःखी बनाउँदछ । कुनै पनि पर्वको दुःख दिने नियत हुँदैन । त्यसलाई हामीले कसरी मनाउने भन्ने विषयमा भर पर्दछ । त्यसैले पर्वको नाममा हामीले फजुल खर्च गर्ने बानी गर्नुहुन्न । कसका घरमा कत्रो खसी काट्यो, कसले कति धेरै दक्षिणा दियो भन्ने विषयमा छलफल गर्ने समय होइन ।
त्यसरी हामीले सोच्न थाल्यौं भने समाजको संस्कृतिलाई भुलेर विकृति निम्तिन थाल्दछ । त्यसैले दशैं आफ्नो धर्म संस्कृति र चालचलन अनुसार आ–आफ्नो क्षमताअनुसार मनाउँ । यो २०८२ सालको विजया दशमीले सबैलाई खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउँदै दशैं पर्व मनाउन सिकाओस्, शुभकामना छ ।
प्रतिक्रिया