काठमाडाैं । गाउँका धेरैले केक काटेर जन्मदिन मनाइरहँदा माथ्लाघरे उजेलीलाई पनि केक काटौंकाटौं, खाइहालौं जस्तो त नलागेको कहाँ हो र ? उमेरले चारबीस (८०) कटे पनि आफ्नो जन्मदिनमा केक काटेर मनाउने उनको धोको पहिलेदेखिकै हो । तर समस्या, आफू कुन दिन जन्मिएको उनलाई थाहै थिएन । उतिबेला आमाले तँ जन्मिँदा ढिँडाको पानी उम्लिनै लागेको थियो भनेको मात्र उनलाई याद थियो ।
नागरिकतामा जन्ममिति लेखेको हुन्छ भन्ने उजेलीले सुनेकी थिइन् । उनले पढेलेखेकालाई नागरिकता देखाएर आफू जन्मिएको मिति पत्ता लगाउन प्रयास गरिन् तर त्यहाँ त उनी ३० वर्ष हुँदा नागरिकता बनाएको भनेर उमेर ३० वर्ष मात्र लेखेको रैछ । उजेलीलाई फर्साद पर्यो । जन्ममिति थाहै नपाई कहिले जन्मदिन मनाउनु र केक काटेर खानु ? तैपनि उनले कुनै एक दिन जन्मिएको त हो नि भन्दै एउटा मिति तय गरिन्, र त्यही दिन केक काटेर खाने निधो गरिन् । संयोग के मात्र भएछ भने उनले तय गरेको जन्मदिनमा त लोग्नेको श्राद्ध पो परेछ । लौ झन समस्या । श्राद्धकै दिन त झन के केक काटेर खानु, उनको सपना अधुरै रह्यो ।
उनले तय गरेको दिन केक काट्न नपाए पनि उजेलीलाई केक खाने रहर मरेको थिएन । त्यसैले जुनसुकै दिन पारेर भए पनि केक काटेर बुढेसकालमा खुशीले जन्मदिन मनाउने उनको योजना बन्यो । उसैबेला उजेलीकी साथीले एउटा प्रसंग सुनाउँदै केककै कुरा निकालिन् । त्यसपछि त उजेलीको मुखमा पानी नै आयो, केक त नकाटी हुँदै भएन । उनकी साथी भन्दैथिइन्, ‘हेर उजेली हिजोआज हरेक उत्सवमा केक नकाटे त समाजमै परिँदैन हो । तैंले आजसम्म केक काटेकी छैनस् ? हेर, यो जन्ममा एउटा जाबो केक पनि नकाटी मर्छेस् त अब ? उहाँ हाम्रा छिमेकीले त मान्छे जन्मिँदा, भात खुवाउँदा, व्रतबन्ध हुँदा, बिहे हुँदा, विदेश जाँदा, लभ पर्दा, विछोड हुँदा त केक काटेर मनाउँछन् । तँ अब के यो समाजमा पर्छेस् त ?’
यति साथीका कुरा सुनेर उजेलीलाई झन सकस भयो । अब जे सुकै होस् भनेर एउटा केक त ल्याउनै पर्यो, काट्नै पर्यो, नखाई हुँदै भएन । उनी गइन् बजारमा । तर केक पो कुन पसलमा पाइन्छ, उजेलीलाई थाहै थिएन । पहिले तरकारी पसलमा गइन्, केक मागिन् । उनले गाली खाइन्, किनकी त्यहाँ त तरकारीका बोरा र डोकाका डोका तरकारीहरु मात्र थिए । उनी फेरि अर्को पसलमा गइन्, जहाँ लुगाफाटो मात्र बेच्न राखिएका थिए । उजेलीले त्यहाँ पनि गाली खाइन्, किनकी त्यो पनि केक पाइने पसलै थिएन । उजेली मासु पसलमा पुगेर केक मागिन्, विचरा पसले कुन धुनमा थियो, हेर्दै नहेरी झपारेर पठाइदियो । जहाँ गए पनि केक पाइएन । उजेली हैरान भइन् ।
एउटा केक काटेर खान निकै रहर बोकेकी उजेली भोलिपल्ट बिहान भालेको डाँकोसँगै गइन् फेरि केकको खोजीमा । पहिले किरनेकै पसलाँ गइन् । त्यहाँ उनले केक मागिन् तर त्यो ब्याट्री पसलाँ के पाइन्थ्यो केक ।
त्यो दिन उनले केक त के केक पाउने पसल पनि फेला पारिनन् । केक खाने धोको अझै पूरा भएन । भोलि बिहानै जानु पर्ला, सोचेर उनी घरमा आएर ढिँडो मस्काउन थालिन् । भोलिपल्ट बिहानै उनकी साथीलाई सोध्न गइन्, कहाँ पाइन्छ केक भनेर । साथीले केक त बेकरी पसलमा पाइन्छ नि भनेपछि उनलाई झट्ट याद आयो, उतिबेला रेडियोमा बेटरी (ब्याट्री) सकिँदा किरनेसँग ब्याट्री किनेर ल्याएको उनलाई थाहा थियो । मोराले त अहिले बेटरी बेच्न छोडेर केक पो बेच्न थालेछ भन्दै उनी गइन् किरनेका पसलमा । विचरी उजेलीले कहिल्यै सुनेकी थिइनन् बेकरी भनेको के हो भनेर, उनले बेकरीलाई बेटरी सुनिन् ।
एउटा केक काटेर खान निकै रहर बोकेकी उजेली भोलिपल्ट बिहान भालेको डाँकोसँगै गइन् फेरि केकको खोजीमा । पहिले किरनेकै पसलाँ गइन् । त्यहाँ उनले केक मागिन् तर त्यो ब्याट्री पसलाँ के पाइन्थ्यो केक । किरनेले एउटा सजिलो उपाय बतायो, उसको गाउँभन्दा दुई घण्टाजति पर श्यामेले केक पसल थापेको छ, त्यहाँ पाइन्छ, उजेली लुखुरलुखुर लौरो टेक्दै पुगिन् श्यामेकाँ पनि । नभन्दै त्यहाँ त केक किन्नेको भीड अचम्मकै रैछ । कोही जन्मदिनका लागि भनेर किन्दै थिए, कोही, कुन्नी के पार्टीका लागि । साँच्चै केक त निकै अमृत जस्तो पो भइसकेछ नि हाम्रो समाजाँ । उजेलीले मनमनै सोचिन् । यहि प्रसंगमा एउटा युवक हतारहतार केक पसलाँ आयो, ऊ यति हतारमा थियो कि, सासै रोकिएला जसरी बोल्यो र केक अर्डर गर्यो ।
उजेलीले त्यो दृष्य देखिरहेकी थिइन्, र सोधिन् पनि । भाइ कसको के का लागि हो र केक ? उनको आवाज भुईंमा खस्न नपाउँदै ती युवकले भने, ‘मेरी आमाको अन्तिम अवस्था छ । पंडितले दशदान बैतर्णी पनि गरिसके । अब एउटा केक पनि नकाटी कसरी उहाँको आत्माले शान्ति पाउला ? त्यहि भएर केक लिन आएको । मलाई हतार छ । अनि सुन्नुस् त भाइ, भोलिसम्म आमाको निधन हुन्छ होला, अर्को एउटा केक स्वर्गमा बास होस् भनेर लेख्नु र केक बनाइदिनुस ल ।’
ती युवकका कुरा सुनेर उजेली झसंग भइन् । अहो ! हाम्रो समाज त कहाँ पो पुगिसकेछ नि भन्दै निकैबेर टोहोलाइन् । र मनमनै विचार गरिन् । केक काट्नु हाम्रो संस्कृति हो र ? हामी किन यति मरिहत्ते गरेर केक काट्दै उत्सव मनाउँछौं ? उनले यो सोचिन् र केक काटेर जन्मदिन मनाउने सोच बदलिन् । तैपनि केकको स्वाद एकपटक मात्र भए पनि पाउन पाए हुन्थ्यो है भन्दै उनी घर फर्किन थालिन् । अनि उहि पुरानै धन्दामा लागिन् । त्यतिबेलासम्म ढिँडाको पानी उम्लिसकेको थियो । उजेली ढिँडो मस्काउन थालिन् । आज उनी ढिँडोलाई केक सम्झिएर खाने सोचमा छिन् । जय केक संस्कृति, जय केक महात्म्य, केक अध्याय नमोनमः । (कसैकाे जीवनसँग मेल खाएमा संयाेग मात्र हुनेछ)
प्रतिक्रिया