काठमाडौं । नेपाली कांग्रेसले विपद्सँग जुध्न भ्रातृ संस्थामा आबद्ध युवाहरूको स्वयंसेवी समूहमार्फत काम गर्ने जनाएको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूको ’विपद् केन्द्रित विशेष बैठकबाट यस्तो निर्णय भएको कांग्रेसले जनाएको छ।
साथै कांग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको भन्दै इलाम, रौतहट, खोटाङ, उदयपुरलगायतका जिल्लामा भएको मृत्युका घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
कांग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवीहरुलाई विशेष अपिल गरेको छ । कांग्रेसले जारी गरेकाे विज्ञप्ति यस्ताे छः
१९ असोज २०८२
इलाम लगायतका जिल्लामा भएको मानवीय क्षतिमा दु:ख व्यक्त गर्दै, थप तदारुकताको अपील
भारी बर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पुरै देशलाई मर्माहत बनाएको छ l सबैभन्दा बढी इलाम र त्यसपछि रौतहट, खोटाङ, उदयपुर लगायतका जिल्लामा भएको मृत्युका घटनाप्रती नेपाली काँग्रेस गहिरो दु:ख व्यक्त गर्दछ l दिवंगत सबैको आत्माको शान्ति कामना गर्दै, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं l
थप मानवीय क्षती हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयंसेवीहरुमा बिशेष अपील गर्दछौं l विपदको यो घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरुको सुरक्षामा सहयोग गर्नु हामी सबैको कर्तव्य हो l यो कर्तव्यमा अझ ऐक्यबद्ध भएर उद्वार, राहत र पुनर्स्थापनाको कार्यमा प्रबल ढंगले सहभागी हुन सबै राजनीतिक दल, भ्रातृ संस्थाहरू, स्थानीय निकायमा रहेका जनप्रतिनिधिहरु र स्थानीय स्वयंसेवीहरुलाई अपील गर्दछौं l
यसैबीच आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरुको `विपद केन्द्रित बिशेष बैठक´ बस्यो l महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा बसेको बैठकले- विपदसँग जुध्न भ्रातृ संस्थामा आवद्ध युवाहरूको `स्वयंसेवि समुह´ मार्फत कार्य गर्ने निर्णय गरेको छ´ l ठाउँठाउँमा भ्रातृ संस्थाका स्वयंसेवक स्थानीय रुपमा परिचालित भइसकेका छन्, थप सक्रियताका लागि नेपाली काँग्रेस अपील गर्दछ l
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्यसचिव

प्रतिक्रिया