• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

एक हप्तामा १४ हजार ८०० ले बढ्यो सुनको मूल्य, कारण के ?

एक हप्तामा १४ हजार ८०० ले बढ्यो सुनको मूल्य, कारण के ?

  • ज्ञानमणि नेपाल कालाेटाेपी

काठमाडौँ । विगत एक हप्तायता सुनको भाउ अचाक्ली बढेको छ । दशैं बिदापछि गत आइतबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार घटेको भएपनि शनिबार पुनः बढेको छ । शनिबार सुन तीन हजारले बढेको हाे । यो सँगै सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार चाँदीको भाउ पनि बढेको छ । शुक्रबार तोलामा ३ हजार ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शनिबार बढेर तोलामा ३ हजार १२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । चाँदीको मूल्य आजसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाली बजारमा सुनको मूल्य गत आइतबार एकै दिन ७ हजार ४०० ले बढेको थियो । सोमबार २ हजार ५०० ले बढेर नयाँ बिन्दुमा पुगेको सुन मंगलबार पनि २ हजार ३०० ले बढ्यो । बुधबार २ हजार ६०० ले बढ्दै सुन पुनः उच्चबिन्दुमा पुगेको थियो । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भयो । तर शुक्रबार भने एकैपटक ४ हजार २०० ले घटेर २ लाख ३५ हजार कायम भएको सुन आज शनिबार पुनः तीन हजारले बढेको हो ।

यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ३० हजार ६ सय रुपैंयाँ र सोमबार २ लाख ३३ हजार एक सय रुपैंयाँ कायम भएको थियो । मंगलबार २ लाख ३५ हजार चार सय कायम थियो भने बुधबार २ लाख ३८ हजार रुपैंयाँ कायम भएको थियो । बिहीबार मूल्य बढ्दै २ लाख ३९ हजार दुई सय रुपैंयाँ कायम भएको सुन शुक्रबार भने २ लाख ३५ हजार रुपैंयाँमा झर्याे । यसरी ६ दिन बढ्दै र एक दिन घट्दै सुनको मूल्य एक हप्ताको समग्र उतार चढावमा प्रतितोला १४ हजार ८०० ले बढेको छ ।

यसरी सुनको भाउ एकाएक उकालो लागेपछि यतिबेला सुन बजारहरुमा चहलपहल कम छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ उच्च भएपछि यसको प्रभाव नेपाली बजारमा परेको हो । अझै केही समय मूल्य बढ्ने क्रम जारी रहने र यो करिब २ लाख ७० हजार हाराहारी पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिएसरत्न शाक्य बताउनु हुन्छ । अमेरिकामा व्याजदर बढेपछि ब्याजदर कटौतीको अपेक्षा र सरकारको आंशिक सटडाउनको चिन्ताबीच लगानीकर्ता सुरक्षित स्थानतर्फ लागेकाले सुनको मूल्य आकाशिएको अनुमान गरिएकाे छ।

परिणामस्वरूप सुनको मूल्य यस वर्ष मात्र ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ । फ्रान्समा प्रधानमन्त्रीको राजीनामा र राष्ट्रपति इमानुएल म्याक्रोनमाथिको राजनीतिक दबाबले पनि सुनलाई थप आकर्षक बनाएको थियो । लामो समयदेखि अस्थिरताका समयमा सुरक्षित सम्पत्ति मानिँदै आएको सुन गत बुधबार प्रतिऔँस चार हजार ३७.१० डलरसम्म पुगेको थियो ।

सुनको मूल्य कहिले कति ?
नेपालमा सुनको मूल्य बढ्ने र घट्ने क्रम सधैं नै रहेको छ । कहिले ह्वात्तै बढ्ने त कहिले ह्वात्तै घट्ने पहिले पनि हुने गरेको थियो । विशेषगरि ०७६ सालसम्मको अवस्था हेर्ने हो भने सो वर्षको साउन १ गते सुनको मूल्य ६४ हजार ३ सय प्रतितोला रहेको थियो । त्यसपछि कोरोना शुरु भएको अवस्थामा ०७६ चैतमा सुनको भाउ ७७ हजार र चाँदीको भाउ प्रतितोला ७२० रुपैंयाँ कायम थियो । पहिलो कोरोनाको समयमा ०७६ चैत ११ देखि ०७७ साल जेठ २५ गतेसम्म सुन बजार बन्द भयो । त्यसपछि खुलेको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ५०० सम्म पुग्यो ।

त्यसयता मूल्यमा घटबढ भइरहेको छ । गतवर्ष साउनसम्म सुनको मूल्य डेढ लाख हाराहारीमा रहेको थियो । त्यसपछि आजका दिनसम्म आइपुग्दा एक लाख रुपैंयाँले बढीसकेको छ । सुनको मूल्य बढेपछि अब यो सर्वसाधारणको पहुँच भन्दा परको विषय बन्ने अवस्थामा पुगेको भन्दै सरोकारवालाहरु चिन्ता व्यक्त गर्छन् ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २५, शनिबार १४:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP