काठमाडौँ । नेपाली सेनाले संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा सञ्चालन भएको एक्सरसाइज क्याब्रिअन पट्रोल, २०२५ मा स्वर्ण पदक प्राप्त गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाए अनुसार असोज २३ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको हाे।
तोकिएको समयसीमा दुई दिनभित्रमा हतियार, करिब ५० पौण्ड तौलको उपकरण र बन्दोबस्तीका सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने त्यस अभ्यासमा सहभागी टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षताको मूल्याङ्कन र परीक्षण गरिएकाे निर्देशनालयले जनाएको छ। सेनाले उक्त प्रतियोगितामा सन २०१७, २०१९ र २०२४ मा पनि स्वर्ण पदक प्राप्त गरेको थियो।
उक्त अभ्यासमा बेलायतसहित ३३ देशका एक सय १७ टोलीको सहभागिता थियो। सन् १९६० बाट वार्षिकरूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आइरहेको छ।

प्रतिक्रिया