• २०८३ असार ३१ | Wed, 15 Jul 2026

मेलम्ची खोलामा आएकाे बाढीपछिका गैरआर्थिक नोक्सानीबारे अध्ययन प्रतिवेदन सार्वजनिक

मेलम्ची खोलामा आएकाे बाढीपछिका गैरआर्थिक नोक्सानीबारे अध्ययन प्रतिवेदन सार्वजनिक

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालमा मेलम्ची खोलामा आएकाे विनाशकारी बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पारेको गैरआर्थिक हानी तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

कार्यक्रममा बाढीपछिका सामाजिक, सांस्कृतिक तथा मनोसामाजिक प्रभावहरू, तिनका दीर्घकालीन असरहरू र प्रभावित समुदायको पुनर्स्थापनाका उपाय विषयमा प्रस्तुत गरिएको थियो । साथै, हानी नोक्सानीका मूल्याङ्कनलाई राज्यका नीति, योजना र स्रोत व्यवस्थापनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा पनि अध्ययनले ठोस सुझाव दिएको छ।

अध्ययनमा संलग्न ६ जना अनुसन्धानकर्ताहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै बाढीले भौतिक मात्र नभई सांस्कृतिक पहिचान, समुदायको आत्मबल, आपसी सम्बन्ध र सामूहिक स्मृतिमा गहिरो घाउ पुर्‍याएको निष्कर्ष प्रस्तुत गरे। उनीहरूले प्रभावग्रस्त समुदायका लागि मनोसामाजिक सहयोग र सांस्कृतिक पुनर्निर्माणलाई दीर्घकालीन पुनःस्थापना रणनीतिको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम मेलम्ची नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. २, ६ र १० का वडाध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, प्रेमबहादुर तामाङ र अमृत खनाल, समाजसेवी तथा राजनीतिज्ञ बालकृष्ण देउजा, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उल्लेखनीय उपस्थिती रहेको थियो।

कार्यक्रमका सहभागीहरूले प्राकृतिक विपत्तिबाट हुने गैरआर्थिक क्षतिहरूलाई पनि नीतिगत मान्यता दिनुपर्ने, र त्यसका आधारमा स्थानीय, प्रादेशिक र संघीय तहमा पुनर्निर्माणको योजना बनाइनुपर्नेमा जोड दिएका थिए।

मेलम्ची र हेलम्बुका बासिन्दाहरूले भोगेका मनोसामाजिक चुनौतीहरूलाई दीर्घकालीन दृष्टीले सम्बोधन गर्न राज्य र नागरिक समाजबीच सहकार्य अनिवार्य रहेको निष्कर्ष कार्यक्रमले निकालेको छ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन २७, सोमबार १२:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP