काभ्रे । नक्कली सुनलाई सक्कली सुन भन्दै सुन पसलमा बिक्री गर्ने तथा नक्कली बिलसमेत बनाएर ठगी गरेको आरोपमा प्रहरीले काभ्रेका एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बेथानचोक गाउँपालिका–५ घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ३२ वर्षीय अक्षय लामालाई पक्राउ गरिएको हो । उनलाई बनेपा नगरपालिका–११, सिंनागालस्थित गौतम भिलेज रिसोर्टमा नक्कली सुन र बिल देखाई ठगी गर्न खोजिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामाले आफूले ल्याएको सुन सक्कली भएको भन्दै सुन पसलमा बिक्री गर्ने प्रयास गरेका थिए । घटनाबारे गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी टोलीले लामाको शरीर तथा साथबाट विभिन्न सुनजस्तो देखिने धातुका गरगहना फेला पारेको जनाएको छ । बरामद सामग्रीमा सुनजस्तो देखिने पहेँलो धातुको बाला, घाँटीमा लगाउने हार, सिक्री, हातमा लगाउने ब्रासलेट तथा कानमा लगाउने झुम्कालगायतका गरगहना रहेका छन् । साथै उनको साथबाट दुई थान मोबाइल फोन र एउटा नक्कली नगदी बिलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, लामाको घर कोठाबाट समेत सुनजस्तो देखिने पहेँलो धातुको सिक्री, ब्रासलेट तथा नाकमा लगाउने नथी, काटिएको नक्कली बिल, विभिन्न बैंकका चेकबुक तथा अन्य कागजात बरामद भएको प्रहरी प्रेस नोटमा उल्लेख छ ।
प्रहरीले लामाको नाममा रहेका विभिन्न बैंक खाताबाट नगदी कारोबार भएको विवरणसमेत फेला पारेको जनाएको छ । बरामद सामग्रीमध्ये गरिमा विकास बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक तथा सुगन्ध बचत तथा ऋण सहकारी संस्थालगायतका संस्थासँग सम्बन्धित नगदी भौचर तथा चेकबुक रहेका छन् ।
त्यसैगरी, विभिन्न संस्थाका परिचयपत्रसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद परिचयपत्रमध्ये रोजन प्रिन्टिङ प्रेस, ग्लोबल खबर र ST. XAVIER लगायतका परिचयपत्र रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका लामामाथि नक्कली सुन तथा बिल देखाएर पीडितहरूलाई ठगी गरेको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घटनासँग सम्बन्धित अन्य व्यक्तिहरू वा यसै प्रकृतिका ठगीका घटनामा संलग्नता भएमा पीडितहरूलाई इलाका प्रहरी कार्यालय बनेपामा जाहेरी दिनसमेत प्रहरीले अनुरोध गरेको छ ।
पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीले नक्कली सुनलाई सक्कली भन्दै बिक्री गर्ने, नक्कली बिल देखाउने तथा विभिन्न माध्यमबाट ठगी गर्ने कार्यप्रति सर्वसाधारणलाई सचेत रहन पनि आग्रह गरेको छ ।
प्रतिक्रिया