काठमाडौँ । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती दलको कागजात विचाराधीन अवस्थामा रहेको आयोगले जनाएकाे छ ।
सामान्यतः आयोगमा दल दर्ताका लागि जहिले पनि निवेदन दिन सकिने भए पनि जेनजी आन्दोलनपश्चात नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको परिवेशमा युवा पुस्ताको समेत सहभागितामा दल दर्ताको क्रम देखिएको छ।
निर्वाचन घोषणापछि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गत असोज ७ गते दल दर्ताको लागि निवेदन दिएको थियो । साथै गोपीलाल न्यौपाने नेतृत्वको नेपाल लिबरल पार्टीले ‘सिक्का’ चिन्हसहित कात्तिक २ गते दर्ताको निवेदन दिएको थियो ।
अधिवक्ता डा सुरेन्द्र भण्डारी नेतृत्वको नेपाल नागरिक पार्टीले गत असोज ९ गते आयोगमा दर्ताका लागि निवेदन दिएको थियो । गत असोज ३० गते दिनेशराज प्रसाईँ नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीले ‘ज्योति’ चुनाव चिन्हको मागसहित दर्ताका लागि निवेदन दिएको छ ।
दल दर्ताका लागि हिराप्रसाद सोती नेतृत्वको राष्ट्रिय जेनजी पार्टी नेपालले कात्तिक २ गते आयोगमा निवेदन दिएको छ। यो दलले ‘क्रस खुकरी’ चुनाव चिन्ह मागेको छ । आयोगका अनुसार उमेर समूह खुल्ने प्रकृतिको दलको नाम र ‘क्रस खुकरी’ निर्वाचन चिन्ह हालसम्म कसैले नपाएको अवस्थामा यसबारे आयोगले प्रचलित व्यवस्था र अभ्यास हेरेर निर्णय गरिनेछ ।
यसैगरी आयोगमा निर्वाचन घोषणापूर्व दर्ताको निवेदन प्राप्त भएका १० दलको कागजात नपुगेकाले स्वीकृति दिइएको छैन । त्यसमा उज्यालो नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायत छन् । आयोगले कागजात पुगेकाको हकमा दर्ताको निवेदन दिएको ४५ दिनभित्र निर्णय दिने गरेको छ । आयोगमा यसअघि १२२ दल दर्ता भएकामा यसबीचमा दुई दल विभाजन भई १२४ दल पुगेका छन् ।
प्रतिक्रिया