काठमाडौँ । मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले यस वर्ष जल तथा मौसम विज्ञान विभागले गरेको मौसमको पूर्वानुमानलगायत पूर्वतयारी र प्रतिकार्यका प्रयासहरु र यस क्रममा भएका सिकाइ तथा सुधारका पक्षहरूबारे विस्तृत समीक्षा गरेको छ।
मनसुन अवधिमा परेको वर्षाको परिमाण र प्रवृत्ति, मनसुनजन्य विपद्का घटनाहरुबाट भएको मानवीय तथा भौतिक क्षति, जनधनको क्षति कम गर्न गरिएको पूर्वतयारी र प्रतिकार्यका प्रयासहरु, यस क्रममा भएका सिकाइ तथा सुधारका पक्षहरूबारे विस्तृत समीक्षा गरेको हाे।
बैठकले सीमित साधन स्रोतका बाबजुद यस वर्ष मनसुन अवधिमा भएका पूर्वतयारी र प्रतिकार्यका प्रयासहरु प्रभावकारी भएको निष्कर्ष निकालेको छ। मनसुन अवधिमा संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संघसस्था, विकास साझेदार, निजी क्षेत्र, संचारमाध्यम तथा सामुदायिक संस्थाहरूबीच समन्वय र सहकार्य प्रभावकारी हुँदा विपद्जन्य क्षति कम भएकोसमेत निष्कर्ष निकालेको छ।
जल तथा मौसम विज्ञान विभागले समयमै मौसम पूर्वानुमानबारे जानकारी गराउनु, त्यस आधारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट पूर्वजानकारी, चेतावनी तथा जानकारीमूलक सन्देश र सूचना जारी हुनु, सरोकारवालाबाट यस कार्यमा सहयोग हुनु, पूर्वतयारी र प्रतिकार्यमा सबै पक्ष सजग र संवेदनशील हुनु तथा सञ्चार माध्यमसँगको समन्वयले सूचना सम्प्रेषण राम्रोसँग हुँदा यस वर्षको मनसुनजन्य विपद्मा व्यवस्थापन प्रभावकारी हुन सकेकोमा सबैको एकमत रहेको थियो।
बैठकमा आगामी दिनमा विपद् व्यवस्थापनमा प्रविधि, उपकरण, तालिम, खोज, उद्धार तथा राहत सामग्रीका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने, पूर्वसूचनालाई जनस्तरमा पुर्याउन समावेशी ढंगबाट समेत सूचना सम्प्रेषण हुने व्यवस्था मिलाउनुपर्ने, अन्तरदेशीय तथा सीमापार सूचना आदानप्रदानका लागि संयन्त्र विकास गर्न पहल गर्नुपर्ने, जोखिमयुक्त बस्तीहरूको नक्साङ्कन गरी समयमै सुरक्षित स्थानमा स्थानान्तरण तथा पुनर्स्थापना गर्नुपर्ने, विपद्का लागि बजेट कोडको व्यवस्था गर्नुपर्ने लगायतका विषयहरूमा समेत विस्तृत छलफल भयो।
कमाण्ड पोष्टका संयोजक एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टको अध्यक्षतामा आज बसेको बैठकमा पोष्टमा प्रतिनिधित्व गर्ने निकायका प्रतिनिधिले आफ्नो निकायका तर्फबाट भएको पहल तथा सिकाइहरुका बारेमा धारणा राख्नुभयो। गत जेठ १४ गते बसेको कार्यकारी समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ पारित गर्दै प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा कमाण्ड पोष्टसम्बन्धी निर्णय गरेको थियो।
मा जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले यस वर्ष मनसुन अवधिमा १ हजार ३७५.४ मिलिमिटर वर्षा भएको, जुन अनुमानित सरदर १ हजार ४१४.५ मिलिमिटर वर्षाको तुलनामा ९७.२३ प्रतिशत रहेको जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया