सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा नौ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता दर्ता अभियान सञ्चालन गरिएकामा जिल्लामा नौ हजार ३१९ मतदाता थपिएका हुन्।
गत असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता दर्ता गर्न सकिने व्यवस्था रहेकामा कार्यालयमा पुगेर र राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावली दर्ता भएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सर्मिला चौलागाईंले जानकारी दिनुभयो।
चौलागाईंका अनुसार कार्यालयमै पुगेर दुई हजार ३८० जनाले नाम दर्ता गराएका छन् । त्यसमध्ये महिलाको सङ्ख्या ९२८ र पुरुषको सङ्ख्या एक हजार ४५२ रहेको छ । यस्तै राष्ट्रिय परिचयपत्रमार्फत छ हजार ९३९ जनाले नाम दर्ता गराएका छन् ।
राष्ट्रिय परिचयपत्र बनाएकाले सिधै अनलाइनमार्फत नाम दर्ता सक्ने व्यवस्था गरिएपछि मतदातालाई सहज भएको हाे । कार्यालयमा पुगेरभन्दा धेरै मतदाताले राष्ट्रिय परिचयपत्रमार्फत नाम दर्ता गराएको कार्यालयले जनाएको छ ।
यसैगरी दुई सय ५० जनाले ठाउँसारी र दुई सय ५० जनाले त्रुटी सच्याउनका लागि कार्यालयमा निवेदन दिएको चौलागाईंले बताउनुभयो । गत असोज १० गतेसम्म जिल्लामा दुई लाख ६५ हजार १९१ जना मतदाता रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया