• २०८३ श्रावण १ | Fri, 17 Jul 2026

सूर्यविनायक–धुलिखेल सडक निर्माणकाे काम पचास प्रतिशत सम्पन्न

सूर्यविनायक–धुलिखेल सडक निर्माणकाे काम पचास प्रतिशत सम्पन्न

काठमाडौँ। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको आधा काम सम्पन्न भएको छ। अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको १५.८ किलोमिटर सडकलाई छ लेनमा विस्तार गर्न दुई प्याकेजमा काम भइरहेको सो आयोजनाको भौतिक प्रगति ५० प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

यस अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत पुगेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडकखण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । अहिले दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ ।

विसं २०७९ पुस २४ गते दुई खण्डमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

काम सम्पन्न गर्न आग्रह
यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी असारभित्र काम सम्पन्न हुने गरी कामलाई तीव्रता दिन सम्बन्धित सबैसँग आग्रह गर्नुभयो ।

आयोजनातर्फबाट निर्णय गर्न बाँकी विषय भए ती विषयमा तत्काल निर्णय गर्न, जनशक्ति र उपकरण थप गरी निर्माणमा पूर्ण रूपमा परिचालित भई आगामी असारभित्रमा सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयबाट प्रतिबद्धता जनाइसकेकाले अब आयोजना निर्माणमा बजेट अभाव नहुने उहाँले उल्लेख गर्नुभयो । निर्माण प्रगतिबारे जानकारी लिँदै उहाँले निर्माण प्रगति, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, निर्माण व्यवसायीसँग छलफल गरी अहिले काम गर्ने उपयुक्त मौसम रहेकाले निर्माणलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।

सडक सीमा विवाद, घरटहरा हटाउने समस्या, बजेटको अभावलगायतका कारणले आयोजनाको निर्माण कार्य प्रभावित भएको थियो । आयोजनाले करिब चार अर्ब रुपियाँ थप बजेट माग गरेकोमा आयोजनाका लागि चालु आर्थिक वर्षमा ७० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । सो अवसरमा मन्त्री घिसिङले बनेपा नगरपालिकाका नगरप्रमुखसँग छलफल गरी बनेपा बजार क्षेत्रमा सडक विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहयोग र सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।गोरखापत्रबाट



कालोटोपी कालोटोपी    
  • २०८२ मंसिर ८, सोमबार ०२:०५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP