काठमाडौँ । गत असोज २८ गतेदेखि लगातार छलफलमा रहेको नेपाली कांग्रेस १५ औँ महाधिवेशनको तयारीमा लागेको छ । कार्यतालिका बनाएरै कांग्रेस महाधिवेशनमा होमिने भएको हो । यसका लागि केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौँमा हुने भएको छ ।
लामो समयको रस्साकस्सीपश्चात् लगातार बसेका बैठकहरूको निष्कर्षस्वरूप कांग्रेसले महाधिवेशनको मिति सार्वजनिक गरेको हो । विधानअनुसार मंसिर २३ गतेभित्र महाधिवेशन गरिसक्नुपर्ने भए पनि ‘असाधारण परिस्थिती’ भन्दै पदावधि माघ मसान्तसम्म थपेर महाधिवेशनको सम्पूर्ण तयारी गर्ने निर्णय कांग्रेसले गरेको छ ।
महाधिवेशन घोषणासँगै कांग्रेसले क्रियाशील सदस्यता वितरणदेखि वडा, पालिका, प्रदेश र केन्द्रीय तहका अधिवेशनसम्मको विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनको आधार क्रियाशील सदस्यता भएकाले नयाँ क्रियाशील फाराम केन्द्रबाट मंसिर २० गतेभित्र वितरण गरिसक्नुपर्नेछ । प्रतिनिधिसभा क्षेत्रमा नयाँ फाराम पठाउने मंसिर २४ गतेभित्र, सदस्यता संकलन र सूचीकृत गर्ने अन्तिम समय पुस ८ गतेभित्र रहेको छ ।
यस्तै केन्द्रमा एक क्षेत्र भएका जिल्लामा पुस १० गतेभित्र र एकभन्दा बढी क्षेत्र भएका जिल्लामा पुस ११ गतेभित्र सूची केन्द्रमा पठाइसक्नु पर्ने तालिका छ । जिल्ला–स्तरिय छानबिन र उजुरीको अन्तिम निर्णय पुस १२ गतेभित्र र केन्द्रीय छानबिन समितिको अन्तिम सूची पुस १४ भित्र केन्द्रीय निर्वाचन समितिमा पठाउनुपर्नेछ ।
यसअघि दुई कार्यकाल सभापति भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा विधानतः सभापति बन्न पाउने छैनन् । अब कांग्रेसको नेतृत्व कसले गर्ला भन्ने आम नागरिकको चासोका बीच वर्तमान महामन्त्री गगन थापाले सभापतिमा आफ्नो दाबी हुने बताइसकेका छन् ।
नयाँ क्रियाशील सदस्यता वितरणमा समावेशीता, युवा सहभागिता र सामाजिक विविधतालाई प्राथमिकता दिँदै महिला, आदिवासी, दलित, मधेशी, खस/आर्य, थारू र मुस्लिमको जनसंख्याको आधारमा अनुपातिक वितरण गरिनेछ भने सामाजिक परिचय, पेशागत पृष्ठभूमि र पार्टी गतिविधिमा सक्रियता प्रमुख आधारमा र अन्य दलबाट कांग्रेस प्रवेश गरेका व्यक्तिलाई ‘अनिवार्य’ सदस्यता दिने निर्णय गरिएको छ ।

त्यसैगरी सदस्यता नवीकरण मंसिर २५ गतेभित्र गरिसक्नुपर्ने र नवीकरण छुटेकाहरूको छुट्टै नामावली केन्द्रमा पुस ८ गतेभित्र पठाइसक्नु पर्नेछ । केन्द्रीय समितिका अनुसार वडा अधिवेशन पुस १६ गर्नै पर्नेछ । तालिका अनुसार गाउँ / नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९, प्रतिनिधिसभा क्षेत्रीय (एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला) पुस २१ गते, बहु–क्षेत्रीय जिल्ला अधिवेशन पुस २२, प्रदेश अधिवेशन पुस २३ र २४ गते र केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौंमा हुने तालिका छ ।
सदस्यता छानबिन गरि महाधिवेशन सफल बनाउन कांग्रेसले आवश्यक प्रमुख समितिहरू गठन गर्ने निर्णय पनि गरेको छ । विधान संशोधन मस्यौदा समिति, क्रियाशील सदस्यता, केन्द्रीय छानबिन समिति, केन्द्रीय निर्वाचन समिति (५ सदस्यीय) लगायत सबै समितिलाई सभापति÷कार्यबाहक सभापतिले परामर्शसहित पूर्णता दिनेछन् ।
पार्टी पदाधिकारीहरूको अवधि माघ मसान्तसम्म थप
पार्टीको १४ औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको अवधि मंसिर २३ मा सकिनु पर्ने भए पनि ‘जेनजी आन्दोलन’ तथा राजनीतिक अस्थिरताका कारण निष्क्रिय संरचना पुनः सञ्चालन गर्न समय लागेपछि कांग्रेसले पदावधि माघ मसान्तसम्म बढाउने निर्णय गरेको छ । यो निर्णय निर्वाचन आयोगलाई औपचारिकरूपमा पठाइनेछ ।
राष्ट्रियसभा, प्रतिनिधिसभा र समानुपातिक उम्मेदवार तयारी
कांग्रेसले मंसिर मसान्तभित्रै राष्ट्रियसभा, प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेद्वारका लागि नाम सिफारिस गर्न परिपत्र गर्ने निर्णय गरेको छ । यसपटक कांग्रेसले सबै तहका टिकट वितरण एकैपटक गर्ने तयारी गरेको छ । जसले समुदायगत सन्तुलन, क्षेत्रगत प्रतिनिधित्व पारदर्शिता र विश्वसनीयता सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
नयाँ नेतृत्वसहित निर्वाचनमा जाँदै कांग्रेस
यी कार्यतालिका अनुसार सबै तहका अधिवेशन सम्पन्न गरेलगत्तै कांग्रेस आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुँदैछ । यसअघि दुई कार्यकाल सभापति भइसकेका वर्तमान सभापति शेरबहादुर देउवा अब हुने महाधिवेशनमा विधानतः सभापति बन्न पाउने छैनन् । अब कांग्रेसको नेतृत्व कसले गर्ला भन्ने आम नागरिकको चासोका बीच वर्तमान महामन्त्री गगन थापाले सभापतिमा आफ्नो दाबी हुने बताइसकेका छन् । अरु नेताहरु पनि यसका आकाक्षी भए पनि खुलेका छैनन् । शेखर कोइराला यस अघि सभापतिमा देउवासँग पराजित भएका थिए । उनी पनि दाबेदारका रुपमा हेरिएका नेता हुन् । उता प्रकाशमान सिंह, अहिलेका कार्यबाहक सभापति पूर्णबहादुर खड्कालगायतका नेताहरु पनि सभापतिकै लाइनमा छन् । यसर्थ सर्वत्र चासोका रुपमा हेरिएको कांग्रेस महाधिवेशनबाट निर्वाचित सभापतिका आधारमा मात्र पार्टीको आगामी यात्रा कस्तो हुने भन्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया