काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयनसम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिकरूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य-प्रभावकारिता र कार्यदक्षता अनुगमन एवम् मूल्याङ्कन गर्ने प्रयोजनको लागि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको उपस्थितीमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट पारित कार्यसम्पदान र मूल्याङ्कन ढाँचा सम्बन्धमा उक्त अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डम्बरबहादुर बिकले यस प्रणालीले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताउनुभयो । यस प्रणालीमार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफूले गरेको कामको मूल्याङ्कनसमेत आफैंले विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त गरी समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने उहाँले बताउनुभयो ।
नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवम् प्रभावकारिताबारे जानकारी दिनुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको संख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा र सुधार एवम् अपेक्षित उपलब्धीहरूसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितीका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिती रहेको थियो ।
नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिकरूपमा सम्पादन हुने कार्यहरूको केन्द्रीय अभिलेख प्रणाली विकास गरी सो इकाइहरू वा सम्बद्ध कार्यालय प्रमुखहरूको कार्यसम्पादन तदारूकता, तत्परता, पहलकदमी एवम् समग्र कार्यसम्पादनस्तरको वस्तुगत मूल्याङ्कन/मापन गर्दै सो अभिलेख प्रणालीलाई सम्बद्ध प्रहरी इकाइहरूको कार्यसम्पादनस्तरको तुलनात्मक अध्ययनका साथै प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कनसमेत गर्ने प्रयोजनले ‘कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा’ तयार गरिएको हो । यो प्रणाली पुस १ गतेदेखि कार्यान्वयन भएकाे छ ।
विभिन्न कार्यालयहरूका प्रमुख र कर्मचारीहरूबाट सम्पादित कार्यहरूलाई प्रभावकारीरूपमा अभिलिखित गर्ने, कार्यसम्पादनको स्तरलाई वस्तुगत र परिमाणात्मक (अंकभार र तुलनात्मक विश्लेषण) रूपमा मापन गर्ने तथा प्राप्त नतिजाहरूलाई नीतिगत सूचना र निर्णय प्रक्रियामा सहायक सिद्ध हुने गरी विश्लेषण गर्ने प्रयोजनका लागि यस प्रणाली विकास गरिएको हो । यो अभिलेख प्रणाली सांगठनिक र इकाइगत कार्यसम्पादनको प्रभावकारिता र कार्यदक्षता मापनका लागि उपयोगी हुने र यस प्रतिवेदनको कार्यान्वयन प्रहरी कार्यालयहरूको आवधिक मूल्याङ्कन प्रणालीलाई यथार्थपरक, वस्तुनिष्ठ र समयसापेक्ष समेत बनाउन उपयोगी हुनेछ ।
प्रतिक्रिया