• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यतामा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

गृहमन्त्री अर्यालको प्रमुख आतिथ्यतामा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रमबीच एकदिवसीय कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी, २०८२ मोरङको विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्तरूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री अर्यालले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र भएका समस्या एवम् चुनौतीलाई समाधान गर्न प्रदेशस्तरीय गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । सुरक्षा निकायको मनोबल बढाउने कार्यमा नेपाल सरकार सदैव क्रियाशील रहेको उल्लेख गर्दै निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजमा सुशासन, समृद्धि र अमन चयन कायम राख्न सुरक्षा केन्द्रित गोष्ठीले उल्लेखनीय भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जिम्मेवार निकायहरूले आ-आफ्नो क्षेत्रमा सक्रिय भई जिम्मेवारी अनुसारको दायित्व निर्वाह गर्नु पर्नेमा जोड दिनुभयो । समाजमा शान्ति सुरक्षा प्रभावकारी बनाउन सुरक्षा निकायलाई आवश्यक स्रोतसाधन उपलव्ध गराउन प्रदेश सरकार तत्पर रहेको बताउँदै कोशी प्रदेशमा लागूपदार्थ दुर्व्यसन ठूलो समस्याको रूपमा रहेकोले यसलाई नियन्त्रण गर्न विशेष अभियानका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो ।

गोष्ठीमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कोशी प्रदेशको शान्ति सुरक्षा प्रभावकारी बनाउन तथा आसन्न निर्वाचनलाई सम्पन्न गराउन योजनाबद्धरूपमा थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिनुभयो । प्रदेशमा शान्ति सुरक्षा कायम राख्न आ-आफ्नो दायित्व बोधबाट मात्र सम्भव हुने चर्चा गर्दै सवारी दुर्घटना न्यूनीकरण, खुल्ला सिमानाको कारण हुने चोरी तस्करी, राजस्व चुहावट, अखाद्य बस्तु विक्रीवितरण, कालोबजारी एवम् गुण्डागर्दी नियन्त्रण गर्न प्रभावकारीरूपमा प्रहरी परिचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्र कुमार पौडेल, नेपाली सेनाका रथी प्रदिपजंग केसी, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीले प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका प्रदेश सचिव नारायणप्रसाद रिसालले कोशी प्रदेशको सुरक्षा अवस्था र सुरक्षा चुनौतीसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले स्वागत मन्तव्य सहित सुरक्षा गोष्ठीको उद्देश्यका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव राजकुमार श्रेष्ठले मन्तव्यसहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ पुष १६, बुधबार १२:४६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP