काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ३ मा रहेको दाहालचौरमा माघ १९ गतेदेखि जेष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माणका लागि श्रीमद् भागवत महापुराण हुने भएको छ ।
नमोबुद्ध जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा माघ १९ गतेदेखि २७ गतेसम्म महापुराण हुनेछ । पछिल्ला केही वर्ष यता हरेकजसो गाउँहरुमा जेष्ठ नागरिकहरु मात्र हुने अवस्था आइरहेको सन्दर्भमा उनीहरुको रेखदेख र सहयोग गर्ने पवित्र उद्देश्यका साथ जेष्ठ नागरिक भवन निर्माण गर्न लागिएको र यसका लागि आर्थिक सहयोग हुने अपेक्षाका साथ महापुराणको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नमोबुद्ध जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष अप्सरा सत्यालले महापुराणको अन्तिम तयारी भइरहेको र यस अवधिमा करिब ३ करोड संकलन गर्ने लक्ष्य लिइएको जानकारी दिनुभयो । उहाँका अनुसार महापुराणमा प्रमुख कथा वाचक दार्शनिक प्रवक्ता पण्डित निशान्त अधिकारी र संकल्पकर्ता पण्डित वासुदेव घिमिरे रहनु हुनेछ ।
अध्यक्ष सत्यालले दिनुभएको जानकारी अनुसार महापुराणको समय अवधिमा दिवंगत पितृहरुको संकल्पसहित मण्डपमा फोटो राख्ने, १००८ शालिग्राम दर्शन, तुलादान र भूमिदान, धान्याञ्चल निर्माण, ग्रहशान्ति व्रत उद्यापन, विभिन्न झाँकीसहित देवलिला, लाखवत्ती प्रज्वलनलगायतका कार्यक्रमहरु पनि रहनेछन् । माघ १९ गते बिहान ११ बजे बाजागाजासहित भजनकीर्तन, शान्तिशोभा कलशयात्रा हुनेछ । सोही दिन उद्घाटन हुने र माघ २० देखि २६ गतेसम्म भागवत पाठ पारायण हुनेछ । माघ २७ गते पूर्णाहुती, समापन समारोह र गुरु बिदाइ तथा कलश वितरण गरिने शुक्रबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ ।
यस पवित्र कार्यक्रममा उपस्थित भइ सकेको सहयोग गर्नुहुन आयोजकले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया