बनेपा । काभ्रेको बनेपा नगरपालिका वडानम्बर ४ नालामा रहेको चण्डेश्वरी सृष्टिकान्त माविमा शुक्रबार हामी पुग्दा निकै भिड थियो । धेरै विद्यार्थीहरुले विद्यालयको आँगन भरिएको थियो । साथमा शिक्षक शिक्षिकाहरु पनि हुनुहुन्थ्यो । अघिपछिको दिनभन्दा यहाँ शुक्रबार अलि फरक दृष्य देखिन्थ्यो । कारण थियो, विद्यालयमा भएको बृहत शैक्षिक मेला प्रदर्शनी र यहाँ अवलोकनकर्ता र प्रदर्शनकर्ताको उपस्थिती ।
विद्यालयले आयोजना गरेको शैक्षिक मेलामा कक्षा एकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनीहरुले ११२ वटा स्टलमा आफूले पढेका, देखेका र भोगेका विभिन्न चित्रहरु, सामानहरु, स्वास्थ्यसँग सम्बन्धित सामाग्री, विज्ञान सामाग्री, कम्प्युटरका बारेमा जानकारी, मौलिक भेषभुषा, पुराना हातहतियार, बाजागाजा, तरकारी तथा फलफूलदेखि ठेकी र मदानीसम्म राखेका थिए । ती सामानका बारेमा अवलोकनकर्तालाई उनीहरुले बयान गरिरहेका दृष्यहरु झन आकर्षक थिए ।
कक्षा ८ मा पढ्ने समृद्धि श्रेष्ठ, समन सुवाल, प्रेक्षा सापकोटालगायतको टिम पनि त्यहाँ थियो । उनीहरु पनि उपस्थितहरुलाई आफूहरुले राखेका सामानहरुका बारेमा जानकारी दिन व्यस्त थिए । आफूले पढेका तथा शिक्षक शिक्षिका र अभिभावकहरुले भने–सुनेका सामानहरुका बारेमा उनीहरुले आफूलाई थाहा पाएसम्मका कुराहरु भनिरहेका थिए । उपस्थित अभिभावक र अन्य विद्यालयका विद्यार्थीहरुले पनि उनीहरुलाई हौसला प्रदान गर्दै थिए ।
कक्षा ८ कै विद्यार्थी अर्पणा बस्नेत भने स्वास्थ्यका बारेमा जानकारी दिँदै थिइन् । उनी विशेषगरि परिवार नियोजन भनेको के हो, परिवार नियोजनका अस्थायी र स्थायी साधनको काम कस्तो हुन्छ, कुन साधनका फाइदा र बेफाइदा के छन् लगायतका विषयहरु खुलेर निर्धक्कसँग बताउँदै थिइन् । कार्यक्रमका प्रमुख अतिथी बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख विमला सापकोटाले पनि प्रदर्शनीको अवलोकन गर्नुभयो ।

अवलोकनपछि प्रमुख शाक्यले यस्ता प्रदर्शनी र मेलाले विद्यार्थीहरुबीच आफूले जानेका कुराहरु एकआपसमा शेयर गर्ने हुँदा यसले उनीहरुको बौद्धिक क्षमताको विकास हुने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले यति ठूलो कार्यक्रम गर्नु अरु यस्तै विद्यालयका लागि पनि उदाहरण हुने बताउनुभयो । आफूले पढेका र सिकेका कुरा यसरी प्रदर्शन गर्नु निकै ठूलो कार्य भएको भन्दै उहाँले आगामी दिनमा पनि यस्तै कार्यक्रम गरेर निरन्तरता दिन अनुरोध गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक श्यामकुमार पाण्डेयले विद्यार्थीले कक्षामा सिकेका विषयहरुलाई व्यवहारमा उतार्न सहज होस् भनेर शैक्षिक मेलाको आयोजना गरिएको बताउनुभयो । विद्यार्थीका पाठ्य सामाग्रीकै आधारमा बनाइएका सामानहरु प्रदर्शनमा राखिएको र यसमा धेरैजसो विद्यार्थीहरुले आफैंले काम गरेका र केहीमा भने शिक्षक शिक्षिकाहरुले सहयोग गरेर यो कार्यक्रमको आयोजना गरिएको उहाँले जानकारी दिनुभयो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँको भनाइ थियो ।
प्रतिक्रिया