सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिका वडा नम्बर ९ खड्काथोकस्थित सात धारा दुप्चेश्वर मेला सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कृष्णकुमार तामाङको प्रमुख आतिथ्यता तथा मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको अवसरमा आफ्नो भनाइ राख्दै मन्त्री तामाङले धर्म र संस्कृतिलाई हाम्रो पहिचानका रूपमा उल्लेख गर्दै संरक्षण र प्रवर्द्धन नगरे अस्तित्व नै समाप्त हुने खतरा रहने बताउनुभयो । धार्मिक तथा सांस्कृतिक परम्परालाई पुस्तान्तरण गर्नु आवश्यक रहेको उल्लेख गर्दै यसमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै मन्त्री तामाङले मेलम्ची नगरपालिका स्रोत र साधनमा जिल्लाका अन्य पालिकाहरू भन्दा अगाडि रहेको बताउनुभयो । यी श्रोत र साधनलाई व्यवस्थित तरिकाले उपयोग गर्न सकेमा यसकै सहयोगमा अगाडि बढ्न सक्षम हुने बताउँदै जनप्रतिनिधिहरूको निरन्तर मिहेनतका कारण मेलम्चीमा सकारात्मक परिवर्तन देखिन थालेको उहाँको भनाइ छ। मन्त्री तामाङले प्रदेश सरकार मेलम्ची नगरपालिकासँग सहकार्य र समन्वयमा रहेर विकास निर्माणका काम अघि बढाउने र आफू जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले स्थानीय धर्म, संस्कृति र परम्पराको संरक्षणका लागि झाँक्री अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो। उहाँले सम्मेलन आयोजना गरी समिति निर्माण गर्ने बताउँदै नगरभित्रका झाँक्रीहरूलाई एकीकृत गरी ढ्याङ्ग्रो वितरणका विषयमा छलफल गर्ने बताउनुभयो । साथै नगरभित्र रहेका पर्यटकीय र धार्मिक महत्वका स्थललाई समृद्ध बनाउने योजना अघि सार्नुभयो।
नगरप्रमुख तामाङले परम्परागत पर्वहरूलाई सम्मानजनक रूपमा मनाइने व्यवस्था मिलाइने र धर्मसँग जोडिएका गतिविधिहरूलाई निरन्तरता दिइने बताउनुभयो। साथै, स्थानीय मेला पर्वहरूलाई निरन्तरता दिई विकास गर्दै लैजाने योजना रहेको पनि उहाँको भनाइ छ।

श्री सात धारा दुप्चेश्वर महादेव मन्दिर विकास तथा संरक्षण समितिको आयोजनामा हरेक वर्ष माघ १ गते माघे संक्रान्तिका दिन उक्त स्थानमा मेला लाग्ने गरेको छ । मेलामा विभिन्न स्थानका झाँक्री बम्बोहरू सामूहिकरूपमा मन्दिर दर्शन तथा पूजाआजा र ध्यानको लागि मेलामा सहभागी भएका थिए । कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष किरणदिप खड्का लगायतको उपस्थिति रहेको थियो ।
मन्दिर विकास तथा संरक्षण समितिका अध्यक्ष कमलबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूको विभिन्न सांगितिक प्रस्तुतिहरूबाट मेलामा सहभागीहरूलाई मनोरञ्जनसमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया