• २०८३ भाद्र १३ | Sat, 29 Aug 2026

धुलिखेल अस्पतालले ओपीडी समय बढायाेः शनिबार पनि सेवा पाइने, बीमा नराेकिने

धुलिखेल अस्पतालले ओपीडी समय बढायाेः शनिबार पनि सेवा पाइने, बीमा नराेकिने

धुलिखेल । काभ्रेकाे धुलिखेलमा रहेकाे धुलिखेल अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउन बहिरंग सेवा (ओपीडी) को सञ्चालन समय विस्तार गरेको छ ।

बिहानी एवं दिउँसाेकाे समयमा कामकाजमा व्यस्त रहने सेवाग्राही (विशेषगरी कार्यालयमा सेवारत समूह) एवं उक्त समयमा कार्य-व्यस्तताका कारण अस्पतालसम्म आइ स्वास्थ्य सेवा लिन नसकेका सेवाग्राहीहरूलाई लक्षित गरी अस्पतालले आफ्नो नियमित ओपीडी सेवाहरू दुई घण्टाले बढाएको हाे ।

नयाँ ओपीडी सञ्चालन तालिका अनुसार बिहान ८:०० बजेदेखि साँझ ६:०० बजेसम्म हुनेछ । यस अघि ओपीडी सेवा बिहान ९:०० बजेदेखि साँझ ४:०० बजेसम्म सञ्चालन हुँदै आएको थियो।

यसका साथै धुलिखेल अस्पतालले विगत केही हप्तादेखि शनिबार पनि ओपीडी सेवा सञ्चालन गर्दै आएको अस्पतालका निर्देशक प्रा डा बलराम मल्लले जानकारी दिनुभयाे। अन्य दिन कार्यालय वा दैनिक व्यस्तताका कारण बहिरंग (ओपीडी) सेवा लिन नपाएका सेवाग्राहीहरुलाई दृष्टिगत गरी अस्पतालले शनिबारसमेत बिहान ९:०० बजेदेखि अपराह्न १:०० बजेसम्म बहिरंग सेवाहरूकाे थालनी गरिएको उहाँले बताउनुभयाे ।

यी विस्तारित सेवा अर्थात् अन्य दिनका अपरान्ह सत्रकाे ओपीडी सेवा (४:०० देखि ६:०० बजे सम्म) र शनिबारीय बहिरंग (ओपीडी) सेवाहरूमा नेपाल सरकारको स्वास्थ्य बीमा सेवा भने लागू नहुने आइतबार आयाेजित पत्रकार सम्मेलनमा जानकारी दिइएकाे छ।

दैनिक जीविकोपार्जन र आफ्नो स्वास्थ्यबीच छनौट गर्न नपरोस् भन्ने उद्देश्यका साथ अस्पतालले आफ्ना ओपीडी सेवाहरू साँझसम्म विस्तार गरेको र शनिबारका दिन पनि ओपीडी सेवा सञ्चालन गरेर समुदायमा रहेका सेवाग्राहीकाे समसामयिक आधारभूत आवश्यकताहरू पूरा गर्न अस्पताल प्रतिबद्ध रहेकाे पनि अस्पताल प्रशासनले जनाएकाे छ ।

सेवा समय अवधि विस्तार भए पनि यसमा अतिरिक्त सेवा शुल्क भने नलाग्ने अस्पतालले प्रष्ट पारेकाे छ । शनिबारबाहेकका अन्य सार्वजनिक बिदाका दिनमा अवस्था हेरेर सेवा दिइने निर्देशक डा. मल्लकाे भनाइ छ ।

बीमा बापतकाे ३६ कराेड भुक्तानी लिन बाँकी
यसैबीच धुलिखेल अस्पतालले स्वास्थ्य बीमा सेवा बापतकाे ३६ कराेड सरकारबाट लिन बाँकी छ । गत बैशाखदेखि यताकाे अवधिमा साे रकम बराबरकाे भुक्तानी बाँकी रहेकाे अस्पताल प्रशासनले जनाएकाे छ ।

हाल अस्पतालमा आएका मध्ये ७० प्रतिशतसम्म बिरामी बीमामार्फत सेवा लिन आउने गरेकाे र दैनिक १५ लाखकाे बीमा दाबी जाने गरेकाे निर्देशक डा मल्ल बताउनुहुन्छ । उहाँका अनुसार विपन्नलाई दिइएकाे सेवाबाट पनि सरकारले दिनुपर्ने भुक्तानी ११ महिनादेखि अस्पतालले लिन बाँकी छ । हाल प्रतिमहिना ५० लाख बराबरकाे यस्ताे दाबी हुने गरेकाे छ ।

यद्यपी अस्पतालले बीमा सेवाबाट उपचार पाउने अवस्थाबाट भने सेवा नराेक्ने जनाएकाे छ । सरकारसँग दाबी भुक्तानीका विषयमा कुरा भइरहेकाे र केही समयभित्रै भुक्तानी पाउने आश्वासन पाइएकाले सेवा भने तत्काल बन्द नगर्ने डा मल्लले बताउनुभयाे । खासमा सरकारले बीमा सेवा न्यून आय भएका नागरिकलक्षित शुरु गरेकाे भएपनि पछिल्ला वर्षहरुमा यसमा सबै वर्गका नागरिक समेटिएका कारण पनि बीमा सेवामा चाप बढेकाे उहाँले बताउनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ १८, आईतवार १२:५७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP