सिन्धुपाल्चोक । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै मेलम्ची नगर अस्पतालको सहकार्यमा सवारी चालकहरूको लागूपदार्थ सेवनसम्बन्धी परीक्षण अभियान शुरु गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुपाल्चोकले मेलम्ची नगर अस्पतालको सहकार्यमा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक योगेश खरेलको प्रमुख आतिथ्यमा अभियान शुरू गरेको हाे ।
अभियान अन्तर्गत सो सडकखण्ड भएर सञ्चालनमा रहेका २१ सवारी साधनका चालकहरूले लागूपदार्थ सेवन गरे वा नगरेको परीक्षण गरिएको थियाे ।
ट्राफिक प्रहरीले सवारी चालकले लागूपदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम अत्याधिक बढ्ने भएकाले यस्ता परीक्षण अभियानलाई नियमितरूपमा सञ्चालन गरिने जनाएको छ। साथै, चालकहरूलाई सवारी नियम पालना गर्न, जिम्मेवार ढंगले सवारी चलाउन तथा यात्रु र आफ्नो जीवन सुरक्षामा सजग रहनसमेत जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ।
मेलम्ची नगर अस्पतालका स्वास्थ्यकर्मीहरूको प्राविधिक सहयोगमा गरिएको परीक्षण अभियानले सवारी सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। आगामी दिनहरूमा पनि जिल्लाका विभिन्न मुख्य सडकखण्डहरूमा यस्ता सचेतनामूलक तथा परीक्षण अभियानलाई निरन्तरता दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रतिक्रिया