• २०८३ असार ३१ | Wed, 15 Jul 2026

प्रतिनिधि सभा निर्वाचनः सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ मा त्रिपक्षीय भिडन्त

प्रतिनिधि सभा निर्वाचनः सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ मा त्रिपक्षीय भिडन्त

  • ज्ञानमणि नेपाल कालोटोपी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा एमालेले सरेश नेपाललाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेसले जंगबहादुर लामालाई उठाएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीबाट माधव सापकोटा तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरतप्रसाद पराजुली उम्मेदवार बनेका छन् । राप्रपाबाट राममणि न्यौपाने, जनता समाजवादी पार्टी नेपालबाट पासाङ शेर्पा, नेपाल मजदुर किसान पार्टीबाट गितादेवी कर्माचार्य र राष्ट्रिय जनमोर्चाबाट दावा ग्याम्छो लामा उम्मेदवार बनेका छन् ।

यसैगरि मंगोल नेशनल अर्गनाइजेशनबाट दावा लामा, श्रम संस्कृति पार्टीबाट फुर्वा तामाङ, मितेरी पार्टी नेपालबाट राजन सुन्चुरी, नेकपा माओवादीबाट समिर श्रेष्ठ, उज्यालो नेपाल पार्टीबाट प्रताप लामा, आम जनता पार्टी (एकल चुनाव चिन्ह)बाट पासाङ्ग तामाङ, नागरिक सर्वोच्चता पार्टी नेपाल (एकल चुनाव चिन्ह) बाट असोकबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् । पदमबहादुर तामाङ, सन्तकुमार तामाङ र सानु तामाङले यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर १ मा उम्मेदवारी दिनेमध्ये ७२.२२ प्रतिशत आदिवासी जनजाती, २२.२२ प्रतिशत खसआर्य र ५.५६ प्रतिशत दलित रहेका निर्वाचन कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । १२ वटा पालिका रहेको सिन्धुपाल्चोकमा क्षेत्र नम्बर १ को मतदाता संख्या १ लाख ३६ हजार ९८५ रहेको छ । जसमा ६५ हजार ७२३ महिला र ७१ हजार २६२ पुरुषको संख्या रहेको तथ्यांक छ । यस क्षेत्रमा १५ राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवार छन्, जसमा २ जना महिला रहेको निर्वाचन कार्यालयले जनाएको छ । यो क्षेत्रमा ८३ मतदानस्थल र १७२ वटा मतदान केन्द्र रहेका छन् ।

जंगबहादुर लामा नेपाली कांग्रेसले उठाएको नयाँ अनुहार हो । यो क्षेत्रमा विगतमा कांग्रेसका मोहनबहादुर बस्नेतले चुनाव लड्दै आएका थिए । तर ०७९ को चुनावमा भने गठबन्धन गरेका कारण यहाँ माओवादीका माधव सापकोटा गठबन्धनका उम्मेदवार बनेका थिए । ०७९ मा बस्नेत भने क्षेत्र नम्बर २ तिर हानिएका थिए । तर यो पटक उनले टिकट पाएनन् । जंगबहादुर भने करिब तीन दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी २०५३ सालमा इकाई सभापति भएका थिए । १२ औं अधिवेशनमा क्षेत्रिय सभापति भएका लामा कांग्रेसको १४ औं अधिवेशनबाट सिन्धुपाल्चोकको जिल्ला सभापति भएका थिए । प्रतिनिधि सभामा उनको यो पहिलो उम्मेदवारी हो । आफ्नो जीत निश्चित भएको लामाको दाबी छ ।

सरेश नेपाल एमाले सिन्धुपाल्चोकका लागि कुनै नयाँ नाम होइन । ०३५ सालदेखि हालसम्म नेपाल राजनीतिमा सक्रिय छन् । उनी ०४० सालमा त्रिपुरासुन्दरी गाउँपालिका–४ मा पञ्चायती शासनविरुद्ध कम्युनिष्ट विद्रोह ‘पिस्कर विद्रोह’मा सहभागी बनेका थिए । ०७४ सालको निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट उनी बागमती प्रदेशसभा सदस्य विजयी भए । प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीसमेत बनेका उनीसँग तत्कालीन जिल्ला विकास समितिमा बसेर काम गरेको अनुभवसमेत छ । ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपालले यही क्षेत्रमा नेकपाका माधव सापकोटासँग प्रतिस्पर्धा गरेका थिए । तर उनी पराजित भए । सिन्धुपाल्चोकको राजनीति र विकासका लागि आफूले ठूलो योगदान दिएको बताउने नेपाल यो पटक भने आफ्नो जीत निश्चित भएको दाबी गर्छन् ।

उता निवर्तमान सांसद रहेका माधव सापकोटा यो क्षेत्रमा पुनः उम्मेदवार बनेका छन् । तत्कालिन कांग्रेस, माओवादी र समाजवादीलगायतको गठबन्धनका साझा उम्मेदवार रहेका उनी अहिले नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका हुन् । २०५५ सालमा माओवादी केन्द्रको जिल्ला समिति सदस्य, ०५६ सालमा जिल्ला उपाध्यक्ष र जिल्ला समिति अध्यक्ष बनेर काम गरेका सापकोटा सोही वर्ष भूमिगत माओवादी आन्दोलनमा पनि सहभागी भएका थिए । ०५७ सालमा पूर्वीपहाड क्षेत्रिय समन्वय समितिका संयोजक बनेका थिए । अघिल्लो निर्वाचनकै प्रतिस्पर्धी एमालेका सरेश नेपाल र कांग्रेसका नयाँ अनुहार जंगबहादुरसँग उनको यो पटक तिब्र प्रतिस्पर्धा रहने भएको छ । आफूले विगत कार्यकालमा निकै राम्रा कामहरुको शुरुवात गरेको दाबी गर्ने सापकोटा ती अधुरा कामहरुलाई पूर्णता दिन पनि आफूले अहिलेको चुनाव जित्नै पर्ने दाबी गर्छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भरतप्रसाद पराजुलीलाई चुनावी मैदानमा उतारेको छ । यसअघि नेकपा एमालेको राजनीतिमा चिनिएका पराजुली पछिल्लो पटक रास्वपामा गएका हुन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका ५७ वर्षिय पराजुली पहिलो पटक प्रतिनिधि सभाको उम्मेदवार बनेका छन् । तर अनुभवी राजनीतिज्ञसँगको चुनावी प्रतिस्पर्धा उनका लागि सहज भने देखिँदैन ।

सिन्धुपाल्चोकमा विगतका चुनावी परिणाम हेर्दा कहिले कांग्रेस, कहिले एमाले त कहिले राप्रपा अनि माओवादीको पक्षमा नतिजा गइसकेको छ । राजनीति सधैं सरल मोड हुँदैन । त्यसैले यो पटकको निर्वाचनमा परिणाम कता जाला यसै भन्न सकिँदैन ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ८, शुक्रबार १५:३९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP