• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयको अभियान, मतदाता स्वयंसेवक शिक्षक घरघर पुगे

काभ्रेमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयको अभियान, मतदाता स्वयंसेवक शिक्षक घरघर पुगे

ज्ञानमणि नेपाल कालोटोपी
काभ्रे । निर्वाचन नजिकै आइसक्यो, दलका उम्मेदवारहरु मतदातासँग भोट माग्न व्यस्त छन् । गाउँगाउँमा यतिबेला छुट्टै मेला जस्तै छ । एक दिन एउटा उम्मेदवार आउँछ, जान्छ, अर्को दिन अर्को । जो आए पनि मतदातासँग हात जोडेर भोट माग्छन् तर भोट हाल्ने तरिका सिकाउँदैनन् । भोट हाल्न नजानेरै हरेकजसो चुनावमा मत बिग्रने दर पनि बढ्दैछ । यसतर्फ ध्यान दिन नसक्दा मतदाताले दिएको मत त्यतिकै टोकरीमा फाल्नुपर्ने अवस्था छ ।

काभ्रेको बनेपा नगरपालिका १० का ८८ वर्षिय पूर्णबहादुर मुक्तानले अहिलेसम्मका सबैजसो निर्वाचनमा भोट हालिसके । यो पटक पनि उनी भोट हाल्ने तयारीमा छन् । तर उनलाई कसरी मत हाल्नुपर्छ भनेर अहिलेसम्म कसैले पनि सिकाएका छैनन् । ‘विगतमा जसरी नै भोट हाल्ने त होला नि ?’ उनले भने । मुक्तान जस्तै थुप्रै मतदाता यस्तै अन्योलमा छन् ।

के गर्दैछ त जिल्ला निर्वाचन कार्यालय ?
धुलिखेलस्थित जिल्ला निर्वाचन कार्यालयले यसपटकको चुनावमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई तिब्ररुपमा अघि बढाएको छ । कार्यालयले यसका लागि फागुन ३ गतेदेखि १८ गते मौन अवधि लागू हुनुभन्दा अघिसम्म निर्वाचन कार्यालयले फोकल पर्सन भनेर तोकेका व्यक्तिहरुलाई अनुगमनकर्ताको रुपमा गत मंगलबार तालिम प्रदान गरेको थियो । उनीहरुले जिल्लाका १३ वटै पालिकाका १३५ वटै वडाहरुका मतदाताहरुलाई शिक्षा दिनका लागि वडामा भएका मतदाता स्वयंसेवक शिक्षकलाई यससम्बन्धी तालिम सिकाइरहेका छन् ।

उनीहरुले सबै वडाका टोलहरु, विद्यालयहरु र अन्य सार्वजनिक स्थानहरुमा पुगेर मतदान कसरी गर्ने, के गर्दा बदर हुँदैन लगायतका कुराहरु सिकाउने र यसपटक निर्वाचन आयोगले फिजिकलभन्दा डिजिटल प्रविधिबाट मतदाताहरुलाई शिक्षा प्रदान गर्ने नीति लिएको जिल्ला निर्वाचन कार्यालय धुलिखेलका जिल्ला निर्वाचन अधिकृत दिनेश सिवाकोटीले जानकारी दिए । उनका अनुसार निर्वाचन आयोग आफैंले पनि डिजिटल प्लेटफार्महरु फेसबुक, वेभसाइट, इन्ट्राग्राम, टिकटकलगायतमा सचेतना जगाउने सन्देशहरु प्रकाशन, प्रशारण गरिरहेको छ । अहिले अधिकांश मतदाताले प्रयोग गर्ने यस्ता माध्यममा सन्देश प्रवाह गर्दा यसलाई आम मतदातासमक्ष पुर्याउन सहज हुने सिवाकोटी बताउँछन् ।

उनी भन्छन्, ‘आयोगले गत माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ । स्वीकृत कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक÷एक स्वयंसेवक परिचालन हुनेछन् । सम्बन्धित निर्वाचन कार्यालयबाट छनोट प्रक्रियाअघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने विधि तय गरिएको छ । प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास छ ।’

डिजिटल माध्यमबाट प्रचारप्रसार धेरै हुने हुँदा यसको प्रभावले मत बदर नहुने र सबैलाई बुझाउन सहज हुने पनि उनको अपेक्षा छ । यति हुँदा पनि केही विकट र दुर्गम गाउँहरुमा मतदातालाई बुझाउन केही कठिन हुने जोखिम रहेको देखिन्छ । मतदाता स्वयंसेवक शिक्षकले यसका लागि सम्बन्धित पालिका र वडाहरुसँग समन्वय गरेर अघि बढ्ने सिवाकोटीले जानकारी दिए ।

अर्को समस्या के पनि हुन सक्छ भने गाउँहरुमा मतदाताको संख्या कम छ । अधिकांश युवा जमात रोजगारी र कामको शिलशिलामा कोही शहर त कोही विदेश पुगेका छन् । यस्तो अवस्थामा मतदान गर्नकै लागि उनीहरु गाउँ फर्कन सक्ने सम्भावना न्यून छ । यसले गर्दा पनि कार्यक्रम प्रभावकारी नहुन सक्ने सिवाकोटीको आशंका छ । तर पनि आफूलाई दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्ने गरि सबै तयारीमा जुटिएको उनले बताए ।

उम्मेदवारका लागि निर्वाचन खर्च गर्न बैंक खाता अनिवार्य
यस पटकदेखि उम्मेदवारहरुले गर्न पाउने खर्चको लागि बैंकमार्फत मात्रै कारोबार गर्न निर्वाचन आयोगले अनिवार्य गरेको छ । यसले उम्मेदवारहरुले मनलाग्दी तरिकाले खर्च गर्न पाउँदैनन् । सबै उम्मेदवारले सरकारले क, ख र ग वर्गका रुपमा निर्धारण गरेका जुनसुकै बैंकमा खाता खोल्न सक्नेछन् । यसका लागि उनीहरुलाई आवश्यक सहयोग निर्वाचन कार्यालयले गरिदिनेछ । माघ २८ गतेसम्म काभ्रे जिल्लाका ४२ मध्ये १४ जना उम्मेदवारले यस्तो खाता खोल्न सिफारिस लगेको कार्यालयकी प्रतिनिधि दिव्येश्वरी जोशीले जानकारी दिइन् । उनका अनुसार बाँकी उम्मेदवारहरुले भने सिफारिसका लागि कार्यालयमा सम्पर्क गरिरहेका छन् । प्रक्रिया पुगेकाहरुलाई सिफारिस दिइने उनले बताइन् ।

काभ्रेमा मत बदर कति ?
काभ्रेमा २०५६ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट २ हजार २१६ मत बदर भएको थियो । ०६४ सालमा यहाँ २ हजार ६६ मत बदर भएको तथ्यांक छ । ०७४ सालमा प्रदेश १ (क) मा १ हजार २७२ र (ख) मा १ हजार ८०४ मत बदर भयो । ०७४ को प्रतिनिधि सभा निर्वाचनमा ४ हजार २२८ र ०७९ मा भने यहाँ बदर मतको संख्या ३ हजार ९६४ रहेको थियो ।

यसैगरि ०५६ सालको निर्वाचनमा क्षेत्र नम्बर २ मा १ हजार ५५७ बदर मत थियो । ०६४ को निर्वाचनमा २ हजार ४९६ तथा ०७४ को निर्वाचनमा ४ हजार १९८ बदर मत भएको थियो । सो निर्वाचनको प्रदेशतर्फ (क) मा १ हजार ३२१ र (ख) मा १ हजार ६०० मत बदर भएको थियो । ०७९ को निर्वाचनमा ५ हजार ८६३ मत बदर भएको तथ्यांक छ । यो संख्यालाई घटाउने गरि काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा देशभर कति मत बदर ?
०७९ मा सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको थियो । जसमा प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको आयोगको तथ्यांक छ । जसमा औसतभन्दा ६.५५ प्रतिशत मत बदर भएको थियो । त्यस्तै सबैभन्दा कम प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मत बदर भएको थियो । प्रदेश सभामा प्रत्यक्ष निर्वाचन प्रणाली तर्फको बदर मत प्रतिशत ४.०७ प्रतिशत रहेको आयोगले जनाएको छ ।

सो चुनावमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा मत बदर भयो । प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा ५.७० प्रतिशत मत बदर भएको थियो भने सबैभन्दा कम वागमती प्रदेशमा ४.१६ प्रतिशत मत बदर भएको थियो । त्यो निर्वाचनमा ६१.४१ प्रतिशत मतदान भएको थियो । बदर मतकै कुरा गर्दा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको थियो भने प्रतिनिधि सभाको समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भयो । त्यस्तै प्रदेश सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४.०७ प्रतिशत र प्रदेश सभाको समानुपातिकतर्फ ६.५५ प्रतिशत मत बदर भएको थियो ।

देशभर कुन निर्वाचनमा कति मत बदर ?
०४७ सालको संविधान जारी भएयता नेपालमा ०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा निर्वाचन भइसकेका छन् । यो पटक हुन लागेको समेत आठ पटक निर्वाचन हुँदैछ । जसमा पछिल्ला चार चुनावमा बदर मतको प्रतिशत घटेको छैन । निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार ०४८ सालको निर्वाचनमा कूल खसेको मतको ३ लाख २२ हजार २३ मत बदर भएको थियो । ०५१ को निर्वाचनमा यस्तो मतको संख्या २ लाख ४१ हजार ७१, ०५६ को निर्वाचनमा २ लाख ४४ हजार ९०२ र ०६४ सालको संविधान सभा निर्वाचनमा ५ लाख ६० हजार ११ मत बदर भएको थियो । त्यसयता ०७० सालको निर्वाचनमा ४ लाख ७१ हजार ८२६, ०७४ सालको निर्वाचनमा ५ लाख २८ हजार ५७० र ०७९ सालको निर्वाचनमा ५ लाख ५९ हजार ८६ मत बदर भएको आयोगको तथ्यांक छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ फाल्गुन ९, शनिबार १३:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP