काठमाडाैँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। उक्त गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय शुभेच्छा प्रस्तुत गरेको छ। ओमप्रकाश राईको संगीत र पेमा शेर्पा राईको स्वरले गीतलाई मर्मस्पर्शी बनाएको छ।
गीतको एरेञ्ज सन्तोष प्रगाढ राई, मिक्सिङ–मास्टरिङ गोविन्द सोनी र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन् । शब्द, संगीत र स्वरको सन्तुलनले गीतलाई झन् आकर्षक बनाएको छ।
उनका केही गीत यसअघि नै रेकर्ड भइसकेका छन् । २०७५ मा शिला खनालले ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गाएकी थिइन् । २०७९ मा मनमा बी राईको स्वरमा ‘सञ्चो छौ कि विसञ्चो’ सार्वजनिक भएको थियो भने २०८१ मा सोही गीत नवराज पराजुलीको स्वरमा पुनः प्रस्तुत गरिएको थियो।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा राई हाल काठमाडौंमा रहेर साहित्य र पत्रकारितामा सक्रिय छन् । उनले दश वर्षे शिक्षण अनुभवसमेत बटुलेका छन् । उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथा संग्रह प्रकाशित छन् ।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव हुन् । लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्षसमेत रहेका उनी ‘लघुकथा सौन्दर्य’ मार्फत लघुकथाको उन्नयनमा सक्रिय छन् । ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) सामूहिक लघुकथा संग्रहमा उनका केही लघुकथा सङ्गृहीत छन् ।
राईको संयोजन तथा विमल भौकाजीको सम्पादनमा सामूहिक लघुकथा संग्रह ‘बलेँसी’ हालै प्रकाशित भएको छ। उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ पत्रिकामा समेत सम्पादन अनुभव बटुलिसकेका छन् ।
नेपाली भाषा र साहित्यमा पुर्याएको योगदानका कदरस्वरूप राईले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०) र गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।
प्रतिक्रिया