काठमाडाैँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (First Aid) सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउन निर्वाचन आयाेगले अनुराेध गरेकाे छ ।
आयाेगले भनेकाे छः फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम निरन्तर जारी रहेको सर्वविदितै छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन आयोगले नेपाल सरकारलगायतका सरोकारवाला नियकासँग निरन्तर सहकार्य गर्दै निर्वाचनमा मतदाताको सार्थक सहभागिताका लागि मतदानको दिनभन्दा अघि र पछि गरी तीन दिन सार्वजनिक बिदाका लागि आयोगबाट सिफारिस भए बमोजिम नेपाल सरकारबाट निर्णयसमेत भइसकेको जानकारी नै छ।
मतदानको प्रक्रियालाई व्यवस्थितरुपमा सञ्चालन गर्न/गराउनका लागि तहगत सरकार र सरोकारवालासँगको सहकार्यको अवधारण अनुरुप आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति फागुन १९ गते मंगलबारदेखि २१ गते बिहीबारसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार एवम् समन्वयका लागि नेपाल सरकारलाई अनुरोध गरे अनुरुप गृह मन्त्रालयबाट सम्बन्धित निकायमा पत्राचारसमेत भइसकेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता (First Aid) सेवा सम्बन्धित मतदानस्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको जानकारीका लागि अनुरोध छ। साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्नेगरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको समेत जानकारी गराइन्छ।
आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोग आग्रहसमेत गर्दछ।
प्रतिक्रिया