काठमाडाैँ । अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ८ जना पक्राउ परेका छन् ।मोरङ, पथरी शनिश्चरे नगरपालिका-८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मानबहादुरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ स्याउले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ६० मिलिग्रामसहित सोही नगरपालिका-२ बाणी बस्ने २५ वर्षीय कुबेर शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झलारी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ स्थित न्यु मनकामना गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६० ग्राम ३ सय २० मिलिग्राम र नगद ३५ हजार ८ सय ३५ रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त गेष्ट हाउसका संचालक घोराही उपमहानगरपालिका-१४ सरस्वती टोल बस्ने रोल्पा घर भएका ३१ वर्षीय हिरामणी घर्ती र दाङ घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २६ वर्षीय ईश्वर बुढामगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले गेष्ट हाउस तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-३ राना टोल बस्ने २३ वर्षीय अमन रानासमेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरीले सु.प.प्र.१-०१३ प १८०२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया