• २०८३ असार ३० | Tue, 14 Jul 2026

सन्दर्भ गिरिजाप्रसाद कोइराला स्मृति दिवसः राजनीतिक संकटका बेला उनकाे नाम सम्झना गरिन्छ

सन्दर्भ गिरिजाप्रसाद कोइराला स्मृति दिवसः राजनीतिक संकटका बेला उनकाे नाम सम्झना गरिन्छ

  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौं । आज पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला स्मृति दिवस हाे । हरेक राजनीतिक पार्टीका आ–आफ्नै इतिहास छन् । इतिहास बनाउन व्यक्ति चाहिन्छ । नेपालको इतिहासमा नेपाली कांग्रेस पुरानो पार्टी हो। स्थापनादेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने सबैभन्दा धेरै समय सत्तामा रहने पार्टी नेपाली कांग्रेस नै हो ।

आफू सत्तामा रहँदा कांग्रेसले के गर्न सक्यो वा सकेन, इतिहास साक्षी छ। जतिबेला कांग्रेसको जन्म भयो, आजका दिनसम्म आइपुग्दा धेरैले नेतृत्व पनि गरे। ती सबै नेतृत्व गर्नेहरु सक्षम भए त? अनि आजको कांग्रेसले हिजो योगदान गर्ने नेतृत्वहरुलाई बिर्सिएकै हो त? आज हामी कांग्रेसका ती दिवंगत नेतृत्वलाई सम्झँदै छौं, जसको कांग्रेसमा अझै अभाव छ र, रहन्छ सधैंसधैं। उनी हुन्– गिरिजाप्रसाद कोइराला ।

गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ गते भएको थियो । उनी नेपाली कांग्रेसका ५ औं सभापति थिए । बि.सं. २०४८ जेठ १२ देखि २०५१ मंसिर १४, २०५५ वैशाख २ देखि २०५६ जेठ १७ सम्म, २०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि कोइराला चार पटक प्रधानमन्त्री भएका थिए । उनी नेपाली काँग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । उनी ६० वर्षभन्दा धेरै समयदेखि राजनीतिमा संलग्न भएका थिए । उनले आफ्नो राजनीतिक जीवनको सुरूवात, आफ्नो गृहनगर विराटनगरको जुटमिलका श्रमिक नेताको रूपमा सुरू गरेका थिए ।

नेपालमा ०५२ सालदेखि तत्कालिन माओवादीले शुरु गरेको जनयुद्धलाई शान्तिपूर्ण ढंगले अवतरण गराउने श्रेय कोइरालालाई छ । उनले ०६३ मंशिर ५ गते माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विस्तृत शान्ति सम्झौता गरेपछि नेपालमा जनयुद्धको विधिवत अन्त्य भयो र गणतन्त्रको विउ रोपिएको हो । सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनीतिक जीवनमा कोइरालाले पार्टीभित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दशवर्षे हिंसात्मक आन्दोलनलाई औपचारिक रुपमा अन्त्य गर्न विस्तृत शान्ति सम्झौतामा २०६३ साल मंसिर ५ गते सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका थिए । शान्ति सम्झौतामा देशमा जारी हिंसात्मक आन्दोलन अन्त्य गर्दै मुलुकलाई शान्तिपूर्ण बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सो सम्झौतामा सेना समायोजन तथा हतियार व्यवस्थापन, संविधानसभा चुनाव र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता दिइएको थियो । शान्ति सम्झौताले प्राथमिकतामा राखेका विषय नेपालका लागि त महत्वपूर्ण थियो नै अन्तर्राष्ट्रिय समुदायले पनि यसलाई चासोका साथ हेरेको थियो ।

सेना समायोजन भइसकेको छ । जनताद्वारा निर्वाचित संविधानसभाले बनाएको संविधान पनि कार्यान्वयनमा आइसकेको छ । तर संक्रमणकालीन न्यायको काम भने हुन सकेको छैन । संक्रमणकालीन न्यायको कार्यभार टुंग्याउन अझै कति वर्ष लाग्ने हो भन्न सक्ने अवस्था छैन । द्वन्द्वपीडितलाई न्याय दिन र संक्रमणकाल अन्त्यका लागि ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख शान्ति सम्झौतामा थियो ।

सम्झौतामा हस्ताक्षर गर्ने मध्येका एक कोइरालाको निधन भए पनि अर्का हस्ताक्षरकर्ता दाहाल अहिले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यकारी अध्यक्षको भूमिकामा छन् । सम्झौता अनुसार संक्रमणकालीन न्याय संयन्त्र गठन हुन नसक्दा पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन्।

विसं. २०६६ साल चैत ७ गते गिरिजाप्रसाद कोइरालाको निधन भयो । गिरिजा पत्नी सुष्मा कोइराला थिइन् भने सुजाता कोइराला छोरी हुन् । नेपाली काँग्रेसमा मात्र होइन नेपाली राजनीतिमा गिरिजाप्रसादको अभाव सधैं रहने छ भने नेपाली काँग्रेसले अब उनी जस्ता सभापति पाउन निकै कठिन छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र ७, शनिबार ०२:४७
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP