काठमाडौँ । कृष्णप्रसाद भट्टराई नेपालका २९ औं प्रधानमन्त्री हुन् । उनको जन्म विसं १९८१ पौष ०८ गते भएको थियो । कृष्णप्रसाद भट्टराईको राजनीतिक नाम किशुनजी हो । आज उनको १०२ औं जन्मजयन्ती हो ।
नेपालका राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछिका पहिलो प्रधानमन्त्री थिए, उनी । भट्टराई विसं २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा संलग्न थिए । यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए । भट्टराई विसं २०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए ।
उनी विसं २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । नेपाल अधिराज्यको संविधान २०४७ को निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व यिनले सफलतापूर्वक बहन गरेका थिए । तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौंबाटै पराजित भए । पछि २०५६ को आम निर्वाचनमा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए ।
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे । यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे । हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो । गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा थियो । पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ । आजीवन नेपाली कांग्रेसमै रहेर राजनीतिमा होमिएका उनको निधन २०६७ फागुन २० गते भएको थियो । कांग्रेसमा उनको अभाव अहिले पनि उत्तिकै छ ।
प्रतिक्रिया