दीपकप्रसाद पौडेल
सिपा नामाकरण र परिचय
इतिहासमा उत्तर ऐंसेलुखर्क र डडुवाखर्क भञ्ज्याङ्ग, पूर्वमा सिपाखोला र झ्याँडीखोला, दक्षिणमा इन्द्रावती नदी र पश्चिम इन्द्रावती नदी चार किल्लाभित्रको भूभागलाई सिपा मौजा नामाकरण गरेको पाइन्छ । पूर्वतर्फबाट झ्याडीखोलामा मिसिने सिपाखोलाको नामबाट यो भूभागको नामाकरण सिपा रहेको छ । लिच्छवि, मल्लकाल, शाह र राणाकालमा समेत यस स्थानको नाम सिपा नै रहेको त्यस समयको लिखितहरुमा पाइन्छ । सिपाधुसेनी, सिपातीनघरे, सिपापोखरे, सिपाबडहरे लगायतका गाउँहरु सिपा अन्तर्गतका प्रमुख गाउँहरु रहेका छन् । भीमसेन थापाको मृत्युपछि पाल्पामा लुकेर बसेका भीमसेनका भाइ रणविरसिंह थापा वनारस गएर विश्व हिन्दू विद्यापिठमा संस्कृत अध्ययन गरि योगासनमा सक्षम गुरुस्वामी अभयानन्द गिरीको नामबाट स्वदेश फर्किएर स्थानीय एसेलुखर्कको गुफामा अखडा बनाई तपसाधनामा बसेको स्थानलाई अभयानन्द गुफा भनिन्छ । आफ्नो र श्रीमतीको नामबाट रणयशनैश्वर महादेवको स्थापना गरेको शिलालेख ऐंसेलुखर्कमा अहिले पनि रहेको छ । थापा परिवारका खलक सिपा हवेलीमा बस्छन् ।
स्वामी अभयानन्द गिरीले नै सिपा मौजाको वातावरण बनाएका थिए भन्ने गरिन्छ । वि.सं. २०१९ भन्दा पहिले पूर्व १ नं.को (हालका सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको) सदरमुकाम चौतारा थियो । त्यही प्रशासन इकाई अन्तर्गत सिपा र मण्डन पर्ने भएकोले सदरमुकाममा बस्ने वडाहाकिमले सिपामण्डन दुवै स्थानलाई एकै शाखा सिपामण्डनको रुपमा हेर्ने गरेकाले तत्कालिन मान्यता अनुसार जनबोलीमा सिपा मण्डन रहन गएको पाइन्छ । विगतमा चार वटा गाउँ पञ्चायतहरु वाडेगाउँ, सिपापोखरे, भोटसिपा, भीमटार गाउँपञ्चायत रहेको र हाल सिपा क्षेत्र सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका-वडा १,२,३ र ४ बाहेकका वडा नं. ५ देखि १२ सम्मका सबै वडाहरु) मा रहेको छ भने मण्डन काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुरमा पर्दछ । सिपा र मण्डनको सीमानालाई इन्द्रावती नदी (सप्तकोशी मध्येको एक नदी) ले छुट्याएको छ ।
२) मण्डनको नामाकरण र परिचय
नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित बृहत शब्दकोष अनुसार मण्डनको अर्थ कुनै पक्षको समर्थन तर्कपूर्ण पुष्टी खण्डको विपरितार्थ शब्द विशेष उत्सवको बेलामा छातीमा देब्रेपट्टी धारण गरिने विभुषण, काभ्रेपलाञ्चोक जिल्लामा इन्द्रावती नजिक रहेको एक बस्ती आदि भन्ने उल्लेख छ । स्कन्द पुराण अन्तर्गत हिमवतखण्डमा मण्डन क्षेत्रलाई ककुद पर्वत भनि उल्लेख गरिएको छ । नेपाली शब्दकोष अनुसार ककुदको अर्थ पहाडको टाकुरो शिखर साँढेको जुरो, राजचिन्ह आदि भनिएको छ । हिमवतखण्ड चौसठ्ठी लिङ्ग प्रकरण अन्तर्गत पञ्चानब्बेऔं अध्यायमा आधारित कथन अनुसार चण्डेनी पहाडको कन्दराबाट प्रकट भएकी चण्डरुपी देवीले चण्डासुर दैत्यको शिर छेदन गरि दत्यलाई मारेको प्रसंग आउँछ । चण्ड नामक दैत्यलाई मार्न त्यही पहाडको कन्दराबाट उमादेवी उत्पती भएकोले त्यस स्थानको नाम चण्डेनी र दैत्यको शिर क्षेदन (मुण्डन) गरी मारेकोले यो क्षेत्रको नाम मण्डन रहन गएको हुनुपर्छ । पिताम्बर नेपालले लेख्नु भएको अथक सेवा नामक पुस्तकमा पूर्व पश्चिम लमतन्न सुतेको अग्लो पहाडमा माथिल्लो भागमा कुनै रुख वा जंगल नदेख्दा मानिसहरुले कस्तो मुण्डन गरेको जस्तो पहाड रहेछ भन्न थालेका र पछि सजिलोको लागि मण्डन भनिएको अनुमान गर्न सकिन्छ ।
(नेपाल पिताम्बर २०६१) भनिएको छ । यहाँका सबैभन्दा अग्लो स्थान (हालको थामडाँडा, सुलीकोट)मा बैदिक ऋषिहरुले मण्डप बनाएर होम यज्ञादी गरिएको र देवीको स्थापनासमेत समिपमा गरिएको थियो । मण्डप रहेको स्थानको नाम लिँदै कालान्तरमा मण्डन भनिएको हो । देवताहरुले मण्डप बनाएको ठाउँलाई मण्डपबाट अपभ्रम्स भई मण्डन रहन गएको किम्वदन्ती छ । मण्डन क्षेत्रभित्र विगतमा चण्डेनी, ज्याम्दी, महादेवस्थान र जैसीथोक गाउँ पञ्चायतहरु (वि.सं. २०४६ सालपछि गा.वि.स.) क्रियाशिल रहेका थिए । साविक मण्डन हाल मण्डनदेउपुर नगरपालिकाको वडा नं. ७ देखि १२ सम्मका ६ वडाका रुपमा र भुम्लु गाउँपालिकाको एउटा वडा वडा नं. ९ यसै भेगमा रहेको छ । पञ्चायतकाल अघि मण्डनलाई मौजाका रुपमा मानिएको थियो । यहाँका पुराना लिखितहरुमा मण्डन मौजे, थुम देउपुर भन्ने उल्लेख गरिएको पुराना लिखित भेटिएका छन् ।
३) मण्डन धाईटार बिर्ता पाउने तुलाराम पौडेल (तुलुपाध्य) को वंश विस्तार
आत्रेय वंश अनुसन्धान प्रतिष्ठान पौडेल वंश राष्ट्रिय समिति देवघाट चितवनबाट वि.सं. २०६० सालमा प्रकाशित वंशावली अनुसार वि.सं. ५२० सालमा जन्मनु भएका सोमनाथ आत्रेयलाई पहिलो पुस्ता मानेर वंशावली तयार गरिएको छ । सोमनाथदेखि ३३ औं पुस्तामा तुलाराम (तुलापाध्य) पौडेलका सन्तानका बारेमा लेखिएको छ । सोहि पुस्तकको पेज नं. ६५९ देखि ६६४ सम्म तुलारामको छोरा दुर्गादासका सन्तानहरुको वंशावली विवरण रहेको छ । यस्तै पेज नं. ३६५ धुरुरतीको वंश (सिपामण्डन) भनि तुलारामको छोरा प्रयागदासका सन्तानहरुको वंशावली विवरण उल्लेख गरिएको छ ।
पौडेल सेवा समन्वय समिति इटहरीले वि.सं. २०६६ सालसम्म विष्णुप्रसाद पौडेलले संकलन गरि प्रकाशित पुस्तक पौडेल वंश पुराणमा तुलाराम पाध्यको छोरा प्रयागदास तर्फका सन्तानहरु पूर्व १ नं. को सिपामण्डन हुँदै धनकुटाको लेगुवाबाट चुुम्लिङ, हात्तीखर्क, सल्लेबाट इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, संखुवासभा लगायतका स्थानमा बसोबास गर्नेहरुको वंशावली किताबको रुपमा प्रकाशित भएको छ । यस्तै तुलारामका छोरा दुर्गादासका सन्तानहरु वंशावली विवरण मण्डनधाईटार मुलथलो भएका पौडेलहरुको वंशावली संकलन लेखन तथा सम्पादन दीपकप्रसाद पौडेल (तुलारामदेखि १६ पुस्तासम्म ३९० (तीनसय नब्बे) को विवरण) ले गर्नु भएको पुस्तक २०७८ सालमा यो पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन, धाईटार, पाँचखाल, अनेकोट, कुन्ता, गेरुवा, बनेपा, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक जिल्लाको थाङपालधाप, भोटेचौर, दुवाचौर, मकवानपुरको हेटौडा लगायत स्थानमा बस्ने पौडेलहरुको वंशावली प्रकाशित भएको छ । योगी नरहरीनाथले लेख्नुभएको सन्धिपत्र संग्रह वाराणासीबाट वि.सं २०२२ सालमा प्रकाशित भएको पुस्तकको पृष्ठ ७७७ मा तुलारामका छोराहरु जेठा तिलक, माईला दुर्गादास प्रयागदास, चुणामणि, दिनानाथ र कान्छा प्रतिमनसमेत ६ भाई रहेको उल्लेख छ ।
हालसम्म दुर्गादास र प्रयागदासका सन्तानहरुको वंश विवरण पहिचान भएको र बाँकीँ चार भाइहरुको वंश खोजी गर्नुपर्ने देखिन्छ । अग्रजहरुको भनाइअनुसार तत्कालिन राजाको दरबारमा तुलाराम तुलुपाध्याकी आमा धाईकाम गर्नुहुन्यो रे, उहाँले स्याहार सुसार गरेको राजकुमार राजा भएपछि आफ्ना धाई आमाका छोरा तुलाराम पाध्या पौडेललाई नेपाल संम्बत ७५१ (वि.सं. १६८८)सालमा मण्डनको जग्गा बिर्ता दिनुभएको थियो । तुलारामले राजाबाट नगरकोट नजिक रहेको बोजिनी, मण्डन मैदान नजिकै ज्यामिरकोट, अकसी देउराली र वेशीफाट धाईटार बिर्ता पाउनुभएको थियो । त्यस समय औलोको कारण उच्च स्थान डाँडामा रहेको ज्यामिरकोट, आकासी देउरालीमा बसोबास र बेशीको धाईटार गाईवस्तुको गोठ साथै खेती पनि गर्ने गर्दथे । राजाले धाईलाई बिर्तामा दिएको हुनाले ठाउँको नाम नै धाईटार रहेको हो भन्ने किम्बदन्ती छ । औलो उन्मुलन भएपछि पौडेलहरुको बस्ती वि.सं. २०११ सालदेखि बसोबास पनि धाईटारमा सरेको थियो । यसै स्थानमा पौडेलहरुको कुल मन्दिर पनि रहेको छ । तुलारामको मुल बसोबास मुलथलो धाईटार भएकाले उहाँका सन्ततीहरु सबैको मुलथलो काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नं. ८ धाईटार नै हो । (लेखक पौडेल वंश महासंघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।)
प्रतिक्रिया