काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिकको चरित्र हत्या गरेको अभियोगमा काठमाडौं बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
पीडितको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू प्रहरी नियन्त्रणमा
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका-४ बस्ने दोलखा वैतेश्वर गाउँपालिका-३ घर भएकी ३७ वर्षीया राधिका बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय सुशिल लामालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त मुद्दामा फरार रहेकी राधिकालाई काठमाडौं महानगरपालिका-६ बाट आइतबार पक्राउ गरेको हो । साथै जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सुशिललाई सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये राधिकालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सुशिललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।
डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । डाँका र ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-८ बौद्ध बेशीगाउँ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ४० वर्षीय खिलबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत दोलखाको २०७४ पुस ४ गतेको फैसलाले उक्त मुद्दामा १० वर्ष कैद र पीडित राहत कोषमा १ लाख १ सय ८९ रूपैयाँ क्षतिपूर्ति भराउने सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-८ बौद्ध बेशीगाउँबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ ।
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
दार्चुला, महाकाली नगरपालिका-४ तल्लासैन बस्ने ५२ वर्षीय मोहनसिंह बिष्टले संचालन गरेको अपि रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा मोहनसमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार २ सय ५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया