• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

अन्ततः गृहमन्त्री गुरुङद्वारा पदबाट राजीनामा

अन्ततः गृहमन्त्री गुरुङद्वारा पदबाट राजीनामा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु ।’

उनले नैतिकताको आधारमा राजीनामा दिएको जनाएका छन् । ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानीको आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो,’ गुरुङले भनेका छन् ।

आफ्ना लागि पदभन्दा ठूलो नैतिकता भएको उनले बताएका छन् । ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,’ उनले भनेका छन्, ‘आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ ।’

आफ्नो शेयरको विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीररुपमा लिएको उनले जनाएका छन् । ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु । पछिल्ला दिनहरूमा नागरिकस्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीररूपमा लिएको छु,’ उनले भनेका छन् ।

आफूले नैतिक जिम्मेवारी निर्वाह गरेको बताउँदै उनले अरुलाई पनि सत्यको बाटोमा उभिन आग्रह गरेका छन् । ‘मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ,’ उनले भनेका छन्।

राजीनामा दिएसँगै उनले सञ्चारकर्मीमाथि पनि प्रश्न उठाएका छन् । ‘कति मिडियाकर्मी साथीहरूको कहाँ कहाँ स्वीट शेयर छ, बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’ गुरुङले भनेका छन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ९, बुधबार १०:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP