काठमाडौँ । देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण केही मुख्य सडक खण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज साँझ ७ बजेसम्म प्राप्त जानकारीअनुसार विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडक खण्डहरूमा यातायात प्रभावित भएकाे जनाएको छ ।
जसअनुसार, बीपी राजमार्गकाे चाैकीडाँडादेखि नेपालथाेक खण्डमा राेशी खाेलामा आएकाे बाढीका कारण साे राजमार्ग बन्द छ । गए रातिदेखि बन्द भएर दिउँसाे सुचारू भए पनि अपरान्हदेखि राजमार्ग अवरूद्ध हुँदा यात्रीहरू अलपत्र परेका छन् ।
उता कान्तिलोकपथ सडक खण्ड अन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३, भालुखोलास्थित सडक पहिरोका कारण पूर्णरुपमा अवरुद्ध छ । त्यस्तै भोजपुर नगरपालिका–५, बोखिमस्थित मध्य पहाडी लोकमार्ग बाढीका कारण हाल एकतर्फी सञ्चालनमा आएको छ ।
अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका–२, कोदारीको ईकु पहिरोले वैशाख १६ गतेदेखि अवरुद्ध सडक वैशाख २० गतेदेखि सुचारु भए पनि फेरि बन्द गरिएको छ ।

भीमफेदी गाउँपालिका–६, भ्याङडाँडास्थित कान्ति लोकपथ सडक खण्ड पनि पहिरोले गर्दा पूर्णरुपमा अवरुद्ध छ । यो सडक वैशाख २२ गतेदेखि बन्द भएको हो ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका–३, जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड वैशाख १६ गते साँझदेखि पहिरोका कारण एकतर्फी मात्र सुचारु छ । यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रतिक्रिया