काठमाडौँ । नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट हातहतियारसम्बन्धी मुद्दामा संलग्न ४० जनालाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट ३ जना, कोशी प्रदेशबाट १ जना, मधेश प्रदेशबाट १ जना, बागमती प्रदेशबाट १ जना, गण्डकी प्रदेशबाट १४ जना, लुम्बिनी प्रदेशबाट ९ जना, कर्णाली प्रदेशबाट ८ जना र सुदूरपश्चिम प्रदेशबाट ३ जना पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरूबाट चाईनिज पेस्तोल १ थान, पेस्तोल १ थान, रिभल्वर १ थान, कटुवा पेस्तोल २ थान, भरूवा बन्दुक २१ थान, बन्दुक १ थान र एयरगन २ थान गरी जम्मा २९ थान हातहतियार बरामद भएको छ । साथै उनीहरूबाट चाईनिज पेस्तोलको गोली १ राउण्ड, एसएलआरको गोली २ सय ६३ राउण्ड, विभिन्न बन्दुकमा लाग्ने गोली ७० राउण्डसमेत बरामद भएको छ ।
अपराधमुक्त समाज निर्माण र अपराध नियन्त्रणका लागि अवैध हातहतियार कारोबारी तथा प्रयोगकर्तालाई पक्राउ गरी कानुनी दायरामा ल्याउन नेपाल प्रहरीले सदैव क्रियाशील छ । तस्करी, हत्या, अपहरण, डकैती, लुटपाट, जबरजस्ती चन्दा असुली तथा दुर्लभ वन्यजन्तुको शिकारमा हातहतियार प्रयोग भएको देखिन्छ ।
अवैध हातहतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी देशभरिनै विशेष अभियान सञ्चालन गरी कार्य गरिरहेको छ । अवैध हतियार कतै लुकाईराखेको थाहा भएमा नेपाल प्रहरीलाई सूचना दिन र अवैध हतियार बुझाउनसमेत नेपाल प्रहरी अनुरोध गर्दछ ।
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने धादिङ घर भएका ३७ वर्षीय शरण थापा, काठमाडौं महानगरपालिका-३२ बस्ने मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, झापा बिर्तामोड नगरपालिका-१० बस्ने ४५ वर्षीय उत्तम गुरूङ, काठमाडौं महानगरपालिका-३२ बस्ने २९ वर्षीया प्रियंकाकुमारी चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुनकुमार चौधरी रहेका छन् ।
पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जना पीडितहरूबाट ५ करोड १ लाख १२ हजार रूपैयाँ, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रूपैयाँ, प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका-१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका-६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका-११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका-१० बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
एक महिनाको अवधिमा २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं, नेपाल प्रहरीले गत वैशाख महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार ३ सय १९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १२ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय ६६ जना, कोशी प्रदेशबाट ३ सय २६ जना, मधेश प्रदेशबाट ७ सय ३० जना, बागमती प्रदेशबाट १ सय ९९ जना, गण्डकी प्रदेशबाट २ सय ४ जना, लुम्बिनी प्रदेशबाट ३ सय ३० जना, कर्णाली प्रदेशबाट ६८ जना र सुदूरपश्चिम प्रदेशबाट ८४ जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय २५ वर्ष २ महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार १ सय १० रूपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
नेपाल प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको परिपेक्षमा फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ ।
प्रतिक्रिया