काभ्रे । भुम्लु गाउँपालिकाले गाउँपालिकाभित्र केही वडामा खोरेत (FMD) जस्तो छिटो फैलिने पशुरोगको लक्षण देखिएपछि पशु चौपाया ओसारपसारमा अस्थायी रोक लगाएको छ ।
गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै रोग अन्य क्षेत्रमा फैलिन नदिनका लागि आगामी २०८३ जेठ ३० गतेसम्म पशु चौपाया ओसारपसारमा रोक लगाइएको जनाएको हो ।
गाउँपालिकाका अनुसार केही वडामा खोरेत रोगसँग मिल्दोजुल्दो लक्षण देखिन थालेपछि सतर्कता अपनाइएको हो । रोग नियन्त्रण तथा संक्रमण फैलिन नदिन सम्बन्धित सबै सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको छ ।
सूचनामा पशु चौपायामा कुनै समस्या वा रोगको लक्षण देखिएमा सम्बन्धित वडाका पशु सेवा प्राविधिक तथा गाउँपालिकाको पशु सेवा शाखामा तत्काल जानकारी गराउन अनुरोध गरिएको छ ।
भुम्लु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ भट्टराईद्वारा जारी सूचनामा स्थानीय कृषक तथा पशुपालकलाई उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।
प्रतिक्रिया