• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

एसईईमा उत्कृष्ट सिन्धुपाल्चोकका विद्यार्थी सम्मानित

एसईईमा उत्कृष्ट सिन्धुपाल्चोकका विद्यार्थी सम्मानित

सिन्धुपाल्चोक । नेपाल राष्ट्रिय शिक्षक संगठन तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा संयुक्तरुपमा आयोजित ‘SEE २०८२ उत्कृष्ट विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट GPA हासिल गर्ने जिल्लाभरिका विद्यार्थीहरूलाई सम्मान गर्दै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका सदस्य एवं शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै, विशेष अतिथिका रूपमा राष्ट्रिय समिति सदस्य मैया पौडेलको उपस्थिति रहेको थियो।

कार्यक्रममा पालिकागत, जिल्लागत उत्कृष्ट GPA प्राप्त गरेका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई नगदसहित मेडल, सम्मानपत्र, खादा तथा बधाई ज्ञापन गरिएको थियो। जिल्लाका अन्य उत्कृष्ट नतिजा ल्याउने १६ जना विद्यार्थीहरूलाई सम्मानित गरिएको थियो।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमल्सिनाले विद्यार्थीहरूको मिहेनत, अनुशासन र लगनशीलताले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताउनुभयो।

त्यसैगरी, नेपाल शिक्षक महासंघका उपाध्यक्ष नमराज नेपालले विद्यार्थीहरूलाई निरन्तर अध्ययन, सिर्जनशीलता र नैतिक शिक्षातर्फ अग्रसर हुन प्रेरित गर्नुभयो।

अभिभावकको तर्फबाट बोल्दै डम्बर रसिक भारतीले विद्यार्थीहरूको सफलतामा अभिभावकको जिम्मेवारी महत्वपूर्ण हुने उल्लेख गर्दै आगामी दिनमा पनि बालबालिकालाई सकारात्मक वातावरण दिनुपर्ने आवश्यकता औंल्याउनुभयो।

सम्मानित विद्यार्थीहरूको तर्फबाट बाल शिक्षा माध्यमिक विद्यालय, खाडीचौरकी छात्रा अनिषा पराजुलीले मन्तव्य राख्दै शिक्षक, अभिभावक तथा विद्यालयप्रति आभार व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीहरूको सफलतामा परिवार, शिक्षक र समाजको संयुक्त योगदान रहने धारणा व्यक्त गर्नुभयो।

लेखनाथ भट्टराईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तव्य, शुभकामना आदानप्रदान, सम्मान वितरण तथा धन्यवाद ज्ञापनसहित समापन गरिएको थियो। कार्यक्रममा विभिन्न शिक्षक संगठनका प्रतिनिधि, स्थानीय तहका अध्यक्षहरू, पत्रकार तथा शिक्षा क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा थप उत्साह, प्रेरणा र प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास व्यक्त गरेका थिए।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १४, बिहीबार २०:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP