ज्ञानमणि नेपाल कालाेटाेपी
धुलिखेल । आर्थिक वर्ष २०८२/८३ को चाैथाे चौमासिकमा काभ्रेपलाञ्चोकका स्थानीय तहले पूर्वाधारदेखि स्वास्थ्यसम्म, न्यायदेखि प्रविधिसम्म, र कृषिदेखि पर्यटनसम्म — सर्वाङ्गीण विकासमा आफ्नो उपस्थिती जनाएका छन् । जिल्ला समन्वय समितिले जनाए अनुसार १३ वटा स्थानीय तहहरूका यस्ताे छ कार्यप्रगतिः
धुलिखेल नगरपालिका
वित्तीय प्रगति ३८.६६% रहेको धुलिखेल नगरपालिकाले यस चौमासिकमा नागरिक सेवालाई प्रविधिसँग जोड्ने अभियानमा उल्लेखनीय काम गर्यो । नगरका ९९.१ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध छन् । PNC Home Visit मार्फत २९४ आमालाई घरदैलो स्वास्थ्य सेवा पुर्याइयो । सुरक्षित मातृत्वतर्फ रु. ४७ लाख ७२ हजार ९ सयको भुक्तानी भयो । शिक्षामा १५ विद्यालयका १ हजार ३ सयभन्दा बढी विद्यार्थीलाई Screen Time Counselling दिइयो । AI मा आधारित Ting Ting सूचना केन्द्र सञ्चालनमा आयो । CCTV जडानमार्फत सुरक्षा सुदृढ गरियो । QR मार्फत कर भुक्तानी भएपछि नगरपालिका आउनुपर्ने बाध्यता समाप्त भयाे । प्रदेशका तीन जिल्लामा Healthy City कार्यक्रम विस्तारमा धुलिखेलले सहजकर्ताको भूमिका निभायो ।
बनेपा नगरपालिका
४०.४% वित्तीय प्रगति रहेको बनेपा नगरपालिकाले हालसम्म २६ ऐन नियम र ५१ कार्यविधि निर्देशिका निर्माण गरी संस्थागत सुशासनमा बलियो जग बसालेको छ । नगर अस्पतालमा X-ray कक्ष निर्माण भयो । उप-प्रमुखको प्रत्यक्ष नेतृत्वमा स्वास्थ्य प्रवर्द्धन कार्यक्रम सञ्चालन गरियो । तर यस चौमासिकमा बनेपाले एउटा गहिरो पीडा पनि भोग्यो । जेनजी आन्दोलनका क्रममा नगरपालिका भवनसहित महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भए । क्षति रु. ८ करोड ४० लाखभन्दा बढी भयाे । ५८ सूचीकृत मेलमिलापकर्तासहितको न्यायिक समिति सक्रिय छ। विपद्पछि पुनः उठ्ने बनेपाको संकल्प अटल छ।
पनौती नगरपालिका
कुल ५४६ योजनामध्ये ५०१ मा सम्झौता भई १०७ सम्पन्न भइसकेको पनौतीले यस अवधिमा पूर्वाधार निर्माणमा उल्लेखनीय गति देखायो । ५.५ किलोमिटर कंक्रिट सडक, १२ किलोमिटर ग्राभेल, १३ खानेपानी योजना, ५ किलोमिटर ढल तथा नाला, २ पुल र १५ मन्दिर निर्माण । यसै चौमासिकमा सडक, पानी र संस्कृति पनौतीको विकासका तीन स्तम्भ एकसाथ अघि बढिरहेका छन् ।
पाँचखाल नगरपालिका
पाँचखाल नगरपालिकाले संघ राजस्व खर्च ८६.७६% र प्रदेश ८९.२५% पुर्याएको छ । सशर्त चालु अनुदानमा संघतर्फ उल्लेखनीय ९७.७६% खर्च भएको छ । कुल विनियोजनको ६२.२१% सामाजिक क्षेत्रमा लगानी भएकाले यस पालिकाको प्राथमिकता स्पष्ट पार्छ । असल अभ्यासको रूपमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम — DPRP ले समावेशी विकासमा नयाँ आयाम थपेको छ। समावेशिता र सुशासनतर्फको पाँचखालको प्रतिबद्धता दृढ छ।
नमोबुद्ध नगरपालिका
नमोबुद्ध नगरपालिकाले ७७.५७% समग्र वित्तीय प्रगति हासिल गरेको छ । पुँजीगत ७९.०९%, चालु ७७.०२%। सम्पूर्ण वडामा सडक पहुँच, वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य चौकी पुगिसकेको छ । ३५ ऐन कार्यान्वयनमा छन् । आफ्नै दमकल सेवा उपलब्ध छ । असल अभ्यासको रूपमा जलाधार तथा मुलाधार व्यवस्थापन कार्यक्रम जिल्लाबाट छनोट भई प्रदेश स्तरमा प्रस्तुत भयो । यो नमोबुद्धको मात्र होइन, सिंगो जिल्लाको गौरव हो।
मण्डनदेउपुर नगरपालिका
२६.८२% वित्तीय प्रगति रहेको मण्डनदेउपुरले यस चौमासिकसम्ममा स्वास्थ्य सेवामा अत्यन्त उल्लेखनीय काम गर्यो । बेरुजु ०.०५% मात्र , लगभग शून्य । ४ हजार ६ सय ४२ जना ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच । १ हजार ५ सय २४ जनाको आँखा परीक्षण र १२७ जनाको निःशुल्क शल्यक्रिया । १८३ सुत्केरी आमालाई पोषण खर्च वितरण । १ हजार ५ सय १४ बालबालिकाको पोषण जाँच भएकाे छ । नेपालमै पहिलोपटक खोप कार्यक्रमका लागि Geolocation अभिमुखीकरण यही मण्डनदेउपुरबाट सुरु भयो। HPV खोप, पूर्ण खोप पालिका घोषणा र स्वास्थ्य बीमाको प्रथम विन्दु सेवा । यी सबैले मण्डनदेउपुरलाई स्वास्थ्य उपचारमा देशकै अग्रपंक्तिमा उभ्याएका छन् ।
रोशी गाउँपालिका
५५.०६% वित्तीय प्रगतिसहित रोशी गाउँपालिका यस चौमासिकमा उल्लेखनीय स्थानमा छ। २६९ मध्ये १५२ योजनाको अन्तिम भुक्तानी भइसकेको छ। ०८१ असोजको बाढीपहिरोबाट प्रभावित १ हजार ३ सयभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरियो । श्री डुम्बर प्राविमा अस्थायी सिकाइ केन्द्र निर्माण भयो । ४८ जनालाई उद्यमशीलता तालिम र २९ जनालाई व्यवसायिक पशुपालन तालिम दिइयो । सुत्केरी आमा पोषिलो खाना कार्यक्रमबाट १२८ जना लाभान्वित भए । बर्थिङ सेन्टरमा ४८ सुरक्षित प्रसूति । न्यायिक समितिमा ९ मध्ये ५ विवादमा मेलमिलाप सफल भएकाे छ ।
बेथानचोक गाउँपालिका
बेथानचोकले ६ वटै वडामा आफ्नै वडा कार्यालय भवन र सडक पहुँच पूर्ण गरिसकेको छ। न्यायिक समितिमा ३३ मध्ये ३१ उजुरी फर्छ्यौट — ९४% दर, जिल्लामै उच्च। असल अभ्यासको रूपमा व्यावसायिक किसानलाई सहुलियत व्याजदरमा अनुदान — कृषि व्यवसायीकरणको नमुना । दमकल र फोहोर प्रशोधन केन्द्रको अभाव चुनौती छ — समाधानतर्फ प्रयास जारी रहेकाे पालिकाले जनाएकाे छ।
तेमाल गाउँपालिका
दुर्गम भूगोलमा अवस्थित तेमाल गाउँपालिकामा स्विकृत ८८ दरबन्दीमध्ये ६८ पद रिक्त रहेको छ । यद्यपी हालसम्म ९ वटा ऐन, ४ वटा नियमावली र २१ कार्यविधि निर्माण गरिएको छ । दमकल सेवा र फोहोर प्रशोधन केन्द्रको अभाव भने चुनौतीको रुपमा कायमै छ । कर्मचारी जनशक्ति अभावको चुनौतीबीच पनि नीतिगत र कानूनी संरचना निर्माणमा तेमालको प्रयास सराहनीय छ।
भुम्लु गाउँपालिका
३४.२०% वित्तीय प्रगति रहेको भुम्लुले सुशासन क्षेत्रमा ६३.१२% खर्च गरी संस्थागत सुदृढीकरणमा जोड दिएकाे छ । हालसम्म २८ ऐन र ७३ कार्यविधि निर्माण भएका छन्।
पूर्ण खोपयुक्त, बालविवाह र बहुविवाहमुक्त पालिका घोषणा । कृषकलाई ट्याक्टर, च्यापकटर, बीउ र स्प्रेयर वितरण । असल अभ्यासको रूपमा — रैथाने बाली कोदो र फापरमा प्रतिपाथी २५ देखि ३० रुपैयाँ अनुदान र दुग्ध उत्पादनमा प्रतिलिटर थप १ रुपैयाँ अनुदानले स्थानीय अर्थतन्त्रलाई बल दिएको छ । दोलालघाट र भीमसेनस्थानलाई धार्मिक-पर्यटकीयस्थलका रूपमा विकास गर्ने अभियान पनि अघि बढिरहेको छ ।
चौंरीदेउराली गाउँपालिका
२८.२३% वित्तीय प्रगति र LGPAS स्कोर ६४.६ रहेको चौंरीदेउराली गाउँपालिकाले दुर्गम भूगोलमा पनि सेवा विस्तारमा उल्लेखनीय काम गर्यो । सबै वडा केन्द्र जोड्ने सडक निर्माण जारी छ । ‘एक घर एक धारा’ अभियान अन्तिम चरणमा छ। १५ शय्याको अस्पताल सञ्चालन सुरु भएकाे छ । फाइबर इन्टरनेट विस्तार गरिएकाे छ । EFT र अनलाइन राजस्व सेवा । असल अभ्यासको रूपमा — विपन्न नागरिक, शहीद परिवार र अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क स्वास्थ्य बीमा र घुम्ती सेवा शुरू गरिएकाे छ ।
महाभारत गाउँपालिका
३५.५४% वित्तीय प्रगति रहेको महाभारत गाउँपालिकाले लगातार तेस्रो वर्ष शून्य बेरुजु कायम राख्न सफल भयो । वित्तीय अनुशासन र पारदर्शितामा यो जिल्लाकै नजिर हो।
५ किलोमिटर सडक, २० धारा, ३ ट्याङ्की र १७ सिँचाइ योजना सम्पन्न भएका छन् । Digital Display Board जडान गरी सूचनामा सहज पहुँच । “महाभारत बन्दै छ बा–आमालाई सन्चै छ?” — यो केवल नारा होइन, एउटा संकल्प हो । ४१ समुदायमा २ हजार २ सय ५३ जनाको NCD स्क्रिनिङ र उपचार गरियो। र सबैभन्दा मानवीय उपलब्धि — ५ जना गर्भवती तथा सुत्केरी महिला र विपदबाट घाइते १ जनाको निःशुल्क हेलिकाेप्टरमार्फत आकस्मिक उद्धार भएकाे छ । महाभारत गाउँपालिकाले “जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु. २० को नोट” — यस कार्यक्रममार्फत कृषि प्रोत्साहनमा पनि नयाँ बाटो देखायो । उक्त असल अभ्यासले जिल्लाबाट छनौट भएर प्रदेशस्तरमा प्रस्तुतिकरणका क्रममा समेत उल्लेख्य प्रोत्साहन पाएको छ । तीन वर्ष शून्य बेरुजु र समुदायको स्वास्थ्य — महाभारतको दोहोरो उपलब्धि हाे ।
खानीखोला गाउँपालिका
खानीखोला गाउँपालिकामा मुख्य भवन निर्माणाधीन छ । बेरुजु रु. १५.७ करोडभन्दा बढी र आवधिक योजना जस्ता मुख्य दस्तावेजहरू बन्न बाँकीले चुनौतीहरू स्पष्ट छन्। तर ४० सेवा अनलाइनमार्फत र ७३ स्थानीय कानुन तयार भइसकेका छन् । असल अभ्यासको रूपमा “कफीमा जसको उत्पादन उसैलाई अनुदान” कार्यक्रममार्फत प्रतिकेजी रु. ३५ सिधै किसानको हातमा जाने गरि काम भइरहेकाे छ । उत्पादन वृद्धि, आम्दानी सुधार र स्थानीय कफीको बजारीकरण — खानीखोलाले किसानको जीवन बदल्ने बाटो रोजेको छ। (जिल्ला समन्वय समितिकाे प्रतिवेदनका आधारमा तयार)
प्रतिक्रिया