मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ९ ले वडाभित्र रहेका ९० वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई घर–घरमै पुगेर सम्मान गरेको छ ।
वडा अध्यक्ष सिताराम श्रेष्ठ, कार्यपालिका सदस्य मैया तिवारी, वडा सदस्य विष्णुप्रसाद नेपाल, टेकबहादुर तामाङ तथा महिला शाखा प्रमुखसहितको टोलीले जेष्ठ नागरिकहरूलाई सम्मान गरेको हो ।
सम्मानस्वरूप जेष्ठ नागरिकहरूलाई कम्मल, टर्चलाइट, लौरो तथा अनार, स्याउलगायतका फलफूल वितरण गरिएको वडा सदस्य विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो ।
कार्यक्रमअन्तर्गत ९० वर्षमाथिका १७ जना जेष्ठ नागरिक सम्मानित भएका छन् । साथै ८ जना एकल महिलालाई पनि सम्मान गर्दै कम्मल र ब्ल्याङ्केट वितरण गरिएको छ ।
यसै अवसरमा वडाभित्र रहेको सामाजिक संस्था सेवक नेपाललाई त्यहाँ रहेका विद्यार्थीहरूका लागि कापी, कलम, फलफूल तथा ५ हजार लिटर क्षमताको पानी ट्यांकी सहयोग गरिएको छ । वडाको करिब ३ लाख रुपैयाँ बजेटबाट सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत पहिलो पटक वडाका जेष्ठ नागरिकलाई विशेष सम्मान गरिएको जनाइएको छ ।

प्रतिक्रिया