• २०८३ असार ३० | Tue, 14 Jul 2026

काभ्रे कांग्रेसका अग्रज नेता राजेन्द्र खरेलको निधन, यस्ताे छ खरेलकाे राजनीतिक याेगदान

काभ्रे कांग्रेसका अग्रज नेता राजेन्द्र खरेलको निधन, यस्ताे छ खरेलकाे राजनीतिक याेगदान

ज्ञानमणि नेपाल कालाेटाेपी

बनेपा । काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेललाई पितृशोक परेको छ । उहाँका बुबा राजेन्द्र खरेलको ८० वर्षको उमेरमा आइतबार निधन भएको हो । उहाँकाे लामाे समयदेखि उपचार भइरहेकाे थियाे ।

पिता सुब्बा देवीप्रसाद तथा माता मुकुन्दकुमारी खरेलको माइलो सन्तानको रुपमा वि.सं. २००३ सालमा काभ्रेलाञ्चोक जिल्लाको खरेलथोकमा जन्मिनुभएका राजेन्द्र खरेल नेपाली काङ्ग्रेसका आदर्शवान नेताका रुपमा परिचित हुनुहुन्थ्याे । वि.सं. २०२५–२०२६ सालतिर तत्कालीन नेशनल कलेज हालको शंकरदेव कलेजमा पढ्दाताका कलेजमा नेपाल विद्यार्थी संघको इकाइ गठन गरी हालका अर्थशास्त्री विश्वम्भर प्याकुरेल अध्यक्ष र उहाँ सचिव भएर राजनीतिमा होमिनु भएको थियो ।

वि.सं. २०३६ को जनमत संग्रह, वि.सं. २०४२ को सत्याग्रह होस् वा वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०६२, २०६३ को जनआन्दोलन सबै बेला उहाँ सक्रिय रहनु भयो । नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय भएबापत पटक पटक गरी झण्डै ९ वर्ष जेल जीवन बिताउनु भएका राजेन्द्र खरेल जेल बस्दाताका थुनामा रहेका सबै अभावग्रस्त साथीहरुको सहारा हुनुहुन्थ्यो । जान्ने भए देखिनै नेपाली काङ्ग्रेसको राजनीतिसँग अत्यन्तै निकट रहेर काम गर्नुभएका राजेन्द्र खरेल वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता महान हस्तीहरुको भरोसा र विश्वास पात्र भएर रहनु भयो ।

नेपाली कांग्रेस काभ्रेको इतिहासमा उहाँको उल्लेख्य योगदान रहेको छ । उहाँ पटक पटक प्रतिनिधि सभाको उम्मेदवार हुनु भएको थियो । ०५६ सालमा शिक्षा राज्यमन्त्री हुँदा उहाँले काभ्रेको शिक्षा क्षेत्रमा ठूलो योगदान गर्नुभएको थियाे । वि.सं. २०५६ को आम निर्वाचनमा काभ्रेको क्षेत्र नं. ३ बाट निर्वाचित हुनु भएपछि शिक्षा राज्यमन्त्री हुँदै महिला बालबालिका तथा समाज कल्याण मन्त्री हुनुभयो । उहाँ शिक्षा राज्यमन्त्री भएका वखत काभ्रेमा प्राथमिक शिक्षा परियोजन लागू गर्नुभयो । जसमार्फत भवन लगायतका भौतिक पूर्वाधारको अभाव भएका कैयौँ विद्यालयहरुको भौतिक संरचना निर्माण मात्रै भएन, प्राथमिक तहको शिक्षा सर्वसुलभ हुँदै स्तराेन्नतिमा समेत त्यसले महत्वपूर्ण भूमिका खेल्यो ।

राज्यमन्त्री भएका बेलामा पनि कार्यकारी अधिकार पाउनु भएका उहाँले देशभरी झण्डै १ हजार ३०० शिक्षक दरबन्दी वितरण र काभ्रेमा मात्रै झण्डै २५० वटा शिक्षक दरबन्दी थप्न सफल हुनुभएकाे थियाे । जसका कारण कैयौं विद्यालय सञ्चालनमा सहजता मात्रै भएन धेरै विद्यालयले उच्च माध्यमिक विद्यालयमा आफूलाई स्तरोन्नती गर्न पाए ।

उहाँका छोरा महेश खरेल हाल पाँचखाल नगरपालिकाका प्रमुख एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोक-२ का क्षेत्रीय सभापतिसमेत हुनुहुन्छ । निष्ठा, मूल्य र मान्यताको राजनीतिमा लाग्न प्रेरणा गर्नुहुने, इतिहासका धरोहर खरेलको निधनले नेपाली कांग्रेस, विशेषगरि काभ्रे कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार ७, आईतवार २२:५१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP