ज्ञानमणि नेपाल कालाेटाेपी
भकुण्डेबेँसी । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको दोस्रो नगरसभाको नवौं अधिवेशनको पहिलो बैठक सोमबार सम्पन्न भएको छ । नगरप्रमुख कुनसाङ लामाको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, बजेट वक्तव्य, आर्थिक विधेयक, विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन, सार्वजनिक लेखा समितिको प्रतिवेदन, विभिन्न विषयगत समितिहरूको प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गरिएको थियो ।
बैठकमा नगरप्रमुख लामाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने उपप्रमुख रत्नबहादुर लामाले आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत बजेट अनुसार नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ९१ करोड ३६ लाख ४३ हजार ९ सय १८ रुपैयाँ बराबरको अनुमानित आय प्रक्षेपण गरेको छ । जसअन्तर्गत आन्तरिक आयबाट ९ करोड २४ लाख ५६ हजार २ सय ६३ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ ।
त्यसैगरी बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९४ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ३ करोड ७४ लाख ४ हजार १८० रुपैयाँ, सशर्त अनुदान ६८ लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ तथा समपूरक अनुदान ३ करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ६५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ८६ लाख ९० हजार रुपैयाँ, सशर्त अनुदान ३० करोड ४९ लाख रुपैयाँ, विशेष अनुदान १ करोड ८० लाख रुपैयाँ तथा समपूरक अनुदान १ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । अन्य विविध आयतर्फ १६ करोड ५० लाख १४ हजार ४ सय ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

नगरपालिकाले चालु खर्चतर्फ २० करोड २९ लाख ४४ हजार ७ सय ३८ रुपैयाँ विनियोजन गरेको जनाएको छ । साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुर्याउने कार्यलाई निरन्तरता तथा थप व्यवस्थित गर्न ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि आगामी बैठकहरूमा छलफल गरी पारित गरिने जनाइएको छ।
प्रतिक्रिया