• २०८३ असार ३१ | Wed, 15 Jul 2026

डिजिटल सुशासनमा जोड दिँदै बनेपाको नीति तथा कार्यक्रम सार्वजनिक

डिजिटल सुशासनमा जोड दिँदै बनेपाको नीति तथा कार्यक्रम सार्वजनिक

बनेपा । बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास र डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गर्नुभएको छ ।

नगरसभाको १८औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख शाक्यले सीमित स्रोतसाधनका बाबजुद नगरवासीका आवश्यकता सम्बोधन गर्दै दिगो विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो।

नगरप्रमुख शाक्यले कृषि क्षेत्रलाई नगरको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्ने नीति लिइएको जानकारी दिनुभयो। उहाँले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कमी आएको अवस्थामा उपलब्ध स्रोतको अधिकतम उपयोग गर्दै विकास निर्माणका कामलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।

खेतीयोग्य जमिनको संरक्षण, कृषि उत्पादन क्षेत्र निर्धारण, अर्गानिक खेती प्रवर्द्धन, किसान परिचयपत्र वितरण, कृषि यान्त्रीकरण तथा शीत भण्डार निर्माणलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

पशुपालन क्षेत्रलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन नश्ल सुधार, पशु बीमा, निःशुल्क खोप, आधुनिक वधशाला निर्माणको सम्भाव्यता अध्ययन तथा छाडा चौपाया व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । कृषि उत्पादनलाई ब्रान्डिङ तथा प्याकेजिङमार्फत बजारसँग जोड्ने योजनासमेत नगरपालिकाले अघि सारेको छ ।

नगरकोट, नागीडाँडा, चण्डेश्वरी, गोसाइस्थान, वासुकी पार्क लगायतका पर्यटकीय क्षेत्रको संरक्षण, स्तरोन्नति र प्रचारप्रसारका कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्थानीय अर्थतन्त्रलाई सबल बनाउन घरेलु तथा साना उद्योग प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलता विकास तथा पर्यटन क्षेत्रको विस्तारलाई प्राथमिकता दिइएको छ।



कालोटोपी कालोटोपी    
  • २०८३ असार १०, बुधबार २२:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP