सिन्धुपाल्चोक। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाइमा बलेफी गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा बिहीबार बजार अनुगमन गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा सम्पन्न अनुगमनमा उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख त्रीपुरारी बख्रेल, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाई, उद्योग वाणिज्य संघका प्रतिनिधि, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
अनुगमन टोलीले खाद्य वस्तु पसल, होटल, औषधि पसल, मेडिकल तथा निजी स्वास्थ्य संस्थालगायतका व्यवसायहरूको स्थलगत निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा ३१ हजार ७८० रुपैयाँ बराबरका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको तथा विभिन्न पसल र फर्मलाई गरी ४० हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार इन्धन, ग्यास, खाद्य वस्तु लगायत दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव तथा सम्भावित कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो। दर्ता तथा नवीकरण नगर्ने, सरसफाइमा लापरबाही गर्ने र म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राख्ने व्यवसायीलाई सचेतसमेत गराइएको उहाँले बताउनुभयो।
यसैबीच, त्यस क्षेत्रका निजी स्वास्थ्य संस्था, पोलिक्लिनिक तथा मेडिकलहरूको पनि अनुगमन गरिएको छ। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईका अनुसार दर्ता तथा नवीकरण नगरी सञ्चालन भएका र मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई आवश्यक प्रक्रिया पूरा गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ।
अनुगमनका क्रममा केही औषधि पसलभित्र लुकिछिपी क्लिनिक सञ्चालन गरिएको भेटिएको भन्दै त्यस्ता गतिविधि कानुनविपरीत भएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो। तोकिएको समयभित्र नवीकरण नगरे वा मापदण्डअनुसार सञ्चालन नगरे कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
बजगाईका अनुसार बाह्रबिसे, चौतारा, सुनकोशी, मेलम्चीलगायतका क्षेत्रमा पनि अनुगमन गरी मापदण्ड पूरा गर्न अनुरोध गरिएको छ। मापदण्ड पालना नगर्ने स्वास्थ्य संस्थालाई म्यादसहित पत्राचार गरिएको र अटेर गरे नियमअनुसार कारबाही गरिने जनाइएको छ।
प्रतिक्रिया