काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसी क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरूको संयुक्त अनुगमनका क्रममा पाँच व्यवसायीलाई कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार बुधबार (२०८३ असार २४ गते) जिल्ला प्रशासन कार्यालय, उद्योग तथा वाणिज्य कार्यालय धुलिखेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रे, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल सम्मिलित टोलीले होटल तथा रेष्टुरेन्टहरूको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा करिब ५ हजार ७ सय ५५ रुपैयाँ बराबरका म्याद नाघेका विभिन्न खाद्य सामग्री नष्ट गरिएको छ । साथै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना नगरेका पाँच वटा होटल तथा पसललाई कुल ७५ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
टोलीले व्यवसायीहरूलाई होटल तथा रेष्टुरेन्टको सरसफाइ, खाद्य सामग्रीको गुणस्तर, म्याद तथा उपभोक्ता स्वास्थ्यप्रति विशेष ध्यान दिन निर्देशन दिएको छ ।
जिल्ला प्रशासन कार्यालयले यसअघि पनि यस्ता अनुगमन सञ्चालन हुँदै आएको र उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।

प्रतिक्रिया